२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

इक्वेडरमा राष्ट्रपतिका उम्मेदवारको गोली हानी हत्या

इक्वेडरमा राष्ट्रपतिका उम्मेदवारको गोली हानी हत्या

700
Shares

इक्वेडरमा राष्ट्रपतिका उम्मेदवार फर्नान्डो भिलाभिसेन्सोको हत्या भएको छ। बुधबार राजधानी कुइटोमा चुनावी सभालाई सम्बोधन गरिरहँदा गोली प्रहार गरी उनको हत्या भएको हो। द न्युयोर्क टाइम्सका अनुसार चुनावी र्‍यालीपछिको सभामा भिलाभिन्सोले संगठित अपराध र सरकारी अधिकारीहरूबीचको सम्बन्धका बारेमा बोलेका थिए।
सम्बोधनपश्चात् एक विद्यालय नजिकै आफ्ना युवा समर्थकहरूसँग कुराकानी गर्दै गर्दा उनीमाथि गोली प्रहार भएको हो। उनको टाउकोमा गोली लागेको भिलाभिसेन्सोको चुनावी प्रचारप्रसारको नेतृत्व गरिरहेका कार्लोस फिगोएरोले न्युयोर्क टाइम्सलाई बताएका छन्। ५९ वर्षीय भिलाभिसेन्सो पूर्वपत्रकार हुन्। इक्वेडरमा यही अगस्ट २० मा हुन लागेको राष्ट्रपति चुनावमा भिलाभिसेन्सोसहित ८ जना उम्मेदवार छन्। तीमध्ये उनी संगठित अपराध र भ्रष्टाचारविरूद्ध खरो बोल्ने उम्मेदवार हुन्। इक्वेडरमा राष्ट्रपति उम्मेदवारको हत्या भएको यो पहिलो घटना हो। यसअघि मान्टाका मेयरको पनि गोली हानी हत्या भए थियो। अभियोजकहरूले भिलाभिसेन्सोमाथि गोली प्रहार गर्ने संदिग्धलाई सुरक्षाकर्मीले गोली हानी नियन्त्रणमा लिएको बताएका छन्। ती संदिग्धको केहीबेरमै मृत्यु भएको थियो। दोहोरो गोली हानाहानमा अन्य ९ जनालाई गोली लागेको थियो, जसमा २ प्रहरी अधिकारी र सांसदका उम्मेदवार पनि छन्। राष्ट्रपति गुइलेर्मो लासोले ट्वीट गर्दै संगठित अपराधमा संलग्नहरूले नै भिलाभिसेन्सोको हत्या गरेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij