काठमाडौं– सन नेपाल लाइफ इन्स्योरेन्सले आज (साउन १ गते) देखि प्रिमियमा आईपीओ निष्काशन गरेको छ। इन्स्योरेन्सले आफ्नो जारी पूँजी ३ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ९६ करोड रुपैयाँ बराबरको ९६ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति पाएको थियो।
सोमध्ये पहिलो चरणमा ९ लाख ६० हजार कित्ता शेयर प्रतिकित्ता १०० अंकित मूल्यमा १३९ रुपैयाँ थप गरी कुल २३९ रुपैयाँमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो।
इन्स्योरेन्सको शेयरमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले साउन १५ गतेसम्म आवेदन दिन सक्नेछन्। इन्स्योरेन्सको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले इन्स्योरेन्सलाई केयरएनपी त्रिपल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले इन्स्योरेन्स वित्तीय दायित्व बहन गर्न सक्षम रहेको औषतस्तरको सुरक्षित कम्पनी रहेको संकेत गर्दछ।
इन्स्योरेन्सको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट उपलब्ध गराएको ‘मेरो शेयर’ सफ्टवेयरबाट आवेदन दिन सक्नेछन्।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij