२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आईएमईपे, खल्ती तथा प्रभु पे पनि नेपाल पे क्यूआरमा आबद्ध

आईएमईपे, खल्ती तथा प्रभु पे पनि नेपाल पे क्यूआरमा आबद्ध

845
Shares

काठमाडौं– नेपाल पे क्यूआरमा नेपालका अग्रणी डिजिटल वालेट आईएमईपे, खल्ती तथा प्रभु पे आवद्ध भएसंगै ग्राहकहरुले यी वालेटहरु प्रयोग गरी नेपाल पे क्यूआरको मर्चेन्टमा क्यूआर स्क्यान गरी भुक्तानी गर्न गर्न सक्ने भएका छन् ।

नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधान, आईएमईपेका प्रमुख कार्यकारी अधिकृत प्रविण रेग्मी, स्प्यारो पे (खल्ती) का प्रमुख कार्यकारी अधिकृत विनय खड्का तथा प्रभुपेका अपरेसन्स तथा फाइनान्स हेड, रवि सिग्देल लगायत बैंक तथा वित्तीय संस्थाहरुका प्रतिनिधि र विभिन्न मिडिया सञ्चारकर्मीहरुको उपस्थितिमा आज काठमाडौंमा आयोजित एक औपचारिक कार्यक्रममा संयुक्त रुपमा यी सेवाहरू सार्वजनिक भएको घोषणा गरिएको हो ।

नेशनल पेमेन्ट स्वीच अन्तर्गत नेपाल–क्युआर स्ट्याण्डर्ड अनुसारको क्युआर अन्तरआबद्धता कायम गर्ने गरी नेपाल पे क्यूआर सञ्चालनमा ल्याइएको हो । क्यूआर स्कीमको रुपमा पनि उपलब्ध रहेको उक्त नेपाल पे क्यूआरमा इस्युंग एप, मर्चेन्ट वा नेटवर्क लेभलमा अन्तरआबद्धता कायम गर्न सक्ने व्यवस्था रहेको छ । नेपाल पे क्यूआरमा हाल २७ भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरु र ३ भुक्तानी सेवा प्रदायकहरूले क्यूआर मर्चेण्ट इनराेलमेन्ट सेवा उपलब्ध गराइरहेका छन् भने २५ भन्दा बढी बैंक तथा वित्तीय संस्थाका मोबाइल बैंकिङ र ९ वटा भुक्तानी सेवा प्रदायकहरूको वालेटहरूबाट नेपाल पे क्यूआर स्क्यान गरी भुक्तानी गर्न सकिन्छ भने अन्य संस्थाहरु पनि थपिने क्रममा छन् । आईएमई पे, खल्ती र प्रभु पे का क्रमशः ४० लाख, ३७ लाख र ९ लाख प्रयोगकर्ताहरु रहेका छन् ।

नेपाल पे क्यूआरको नेटवर्कमा ३ लाख ५० हजार क्यूआर मर्चेन्टहरु छन् र हालै स्मार्ट क्यूआरसंगको अन्तरआवद्धता पश्चात अब ६ लाख भन्दा बढि मर्चेन्टहरुको पहुँच हुनेछ । मर्चेन्टहरुको बिलिङ्ग प्रणाली वा एइक् डिभाइस वा इकर्मस पोर्टलको पेमेन्ट गेटवेमा, फिजिकल क्यूआर वा डाइनामिक क्यूआरको रुपमा उक्त नेपालपे क्यूआर उपलब्ध रहेका छन् ।

नेपाल पे क्यूआर अब बैंक तथा वित्तिय संस्थाको मोबाइल बैंकिङ्गका ग्राहकहरु, वालेटका ग्राहकहरु, कनेक्ट आइपीएस प्रयोगकर्ताहरु लगायत डिजिटल पहुँच भएका प्रयोगकर्ताहरु माझ पुगिसकेको छ । आईएमई पे, खल्ती र प्रभुपेले नेपाल पे क्यूआरसँगको यस साझेदारीले ग्राहकहरुलाई क्युआर सम्बन्धी भुक्तानीहरु गर्न थप सहज हुने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij