२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सबै प्रदेशमा औपचारिक कार्यक्रम गर्ने समाजवादी मोर्चाको निर्णय

सबै प्रदेशमा औपचारिक कार्यक्रम गर्ने समाजवादी मोर्चाको निर्णय

655
Shares

काठमाडौं – समाजवादी मोर्चाले सबै प्रदेशका राजधानीमा कार्यक्रम गर्ने भएको छ । शनिबार काठमाडौंको आलोकनगरस्थित नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालयमा बसेको मोर्चाको पहिलो बैठकबाट सबै प्रदेशका राजधानीमा केही दिनभित्रै औपचारिक कार्यक्रम गर्ने निर्णय गरिएको हो ।
मोर्चाको सन्देश देशभर पुर्‍याउने गरी सबै प्रदेशका राजधानी सहरहरूमा केही दिनभित्रै औपचारिक कार्यक्रम गर्ने निर्णय भएको एक नेताले जानकारी दिए ।

यस्तै, मोर्चाको आचारसंहिता, नीति र कार्यक्रम निर्माणका लागि चार सदस्यीय कार्यदल पनि गठन गरिएको छ । नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङ, एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमाल, जनता समाजवादी पार्टी (जसपा)का नेता राजेन्द्र श्रेष्ठ र नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खडगबहादुर विश्वकर्मा कार्यदलमा रहेका छन् ।

कार्यदलले तयार गरेको प्रतिवेदन आउँदो असार २७ गते बस्ने मोर्चाको बैठकमा पेस हुने र पारित हुनेछ । उनका अनुसार मोर्चाको बैठकको अध्यक्षता ६/६ महिनामा परिवर्तन गर्ने सहमति पनि गरिएको छ । नेताहरूले मोर्चाको बैठक बस्न ढिलाइ भएको स्वीकार गर्दै त्यसलाई क्रियाशील बनाउनुपर्नेमा जोड दिएका थिए । बैठकमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लगायत नेताहरूको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij