काठमाडौं – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक अन्तर्राष्ट्रिय उडानको सफल अवतरण भएको छ । चीनको छेन्दुबाट आएको सिचुवान एयरलाइन्सको न्यारोबडी ए ३१९ जहाज बुधबार बिहान ९ बजेर ६ मिनेटमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो । सो जहाजमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित १३० यात्रु सवार थिए ।
पोखराको फेवातालमा यही असार ८ र ९ गते आयोजना हुन लागेको नेपाल–चाइना ड्रागन बोट रेस फेस्टिभलमा सहभागी हुने खेलाडी समेत जहाजमा सवार थिए । उक्त जहाज करिब दुई घण्टा पोखरा विमानस्थलमा रहेर बिहान ११ बजे काठमाडौं हुँदै चीन फर्कनेछ ।
गएको अंग्रेजी नयाँ वर्षदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सुरु गरिएको थियो । तर, अन्तर्राष्ट्रिय उडान र अवतरण भएको थिएन ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij