२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

इ–सेवा मनी ट्रान्स्फर र लुलु मनीबीच रेमिटेन्स भुक्तानी सम्झौता

इ–सेवा मनी ट्रान्स्फर र लुलु मनीबीच रेमिटेन्स भुक्तानी सम्झौता

980
Shares

इ–सेवा मनि ट्रान्सफरको रेमिटेन्स सेवा सिंगापुरको लुलु मनीबाट पनि सुरू भएको छ। स्थापना भएको तीन वर्षकै अन्तरालमा कम्पनीले परम्परागत शैलीको सिस्टमलाई आत्मसात गर्दै डिजिटल रेमिटेन्सलाई प्राथमिकता दिँदै अघि बढेको बताएको छ। सम्झौता पत्रमा इ–सेवा मनी ट्रान्सफरको तर्फबाट निर्देशक डेनियल डी श्रेष्ठ र लुलु मनीको तर्फबाट, लुलु फाइनान्सियल होल्डिङ्सका प्रमुख कार्यकारी अधिकृत रिचर्ड एम वासनले हस्ताक्षर गरे।

इ–सेवा मनी ट्रान्स्फर र लुलु मनी बीचको यो साझेदारीले रेमिटेन्स सेवाहरूमा पहुँच र दक्षता अभिवृद्धि गर्ने लक्ष्य राखेको छ। यो सम्झौतासँगै विदेशमा बसोबास तथा काम गर्दै आएका नेपालीहरूले लुलु मनीको शाखामा गई वा वेबसाइट र मोबाइल एप प्रयोग गरेर नेपालमा इ–सेवा मनी ट्रान्सफरमार्फत रेमिटेन्स पठाउन सक्नेछन्।

लुलु मनीबाट पठाएको रेमिटेन्स इ–सेवा मनी ट्रान्सफरका १३ हजार ८०० भन्दा बढी भुक्तानी केन्द्र तथा इ–सेवाका एक लाखभन्दा बढी क्यास प्वाइन्ट, बैंक तथा वित्तिय संस्थाहरू साथै इ–सेवा वालेटबाट सहजै प्राप्त गर्न सकिनेछ। यस्तै, पठाएको नगद सोझै इ–सेवा वालेटमा प्राप्त गरी अतिरिक्त ७७ रुपैयाँ बोनस समेत प्राप्त गर्न सकिने कम्पनीले बताएको छ।

यस सम्झौताबारे बोल्दै इ–सेवा मनी ट्रान्स्फरका प्रमुख कार्यकारी अधिकृत अजेस कोइरालाले भने ‘लुलु मनीको रेमिटेन्स भुक्तानी सम्झौताबाट हामी निकै उत्साहित छौँ। लुलु मनीबाट अनलाइन सेवामार्फत पनि नेपालमा रेमिटेन्स पठाउन मिल्ने भएकाले विदेशमा रहनुभएका नेपालीहरूलाई आफ्नो घर रेमिटेन्स पठाउन थप सहजता प्रदान गरेको छ।’

यसैगरी, धेरै भन्दा धेरै नेपाली आप्रवासीसम्म सस्तो, छिटो र भरपर्दो रेमिटेन्स सेवा पुर्‍याउन प्रयास जारी रहने उनले बताए। साझेदारीमा खुसी व्यक्त गर्दै लुलु मनी सिंगापुरकी कार्यकारी निर्देशक प्याट्रिसिया चुआले इ–सेवा मनी ट्रान्स्फरसँग साझेदारी गर्न र एफवान सफ्ट ग्रूपको फिनटेक इकोसिस्टम मार्फत नेपालमा रेमिटेन्स सेवाहरू सुरू गर्न पाउँदा आफू खुसी भएको बताइन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij