काठमाडौं– चालु आर्थिक वर्षको १० महिनामा १० खर्ब पाँच अर्ब रुपैयाँ रेमिट्यान्स आएको छ । राष्ट्र बैंकका अनुसार गतवर्षको तुलनामा विप्रेषण आप्रवाह २३.४ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.५ प्रतिशतले बढेको थियो । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको १० महिनामा अघिल्लो वर्षको तुलनामा मुल्य वृद्धि न्युनिकरण हुन नसकेको जनाएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको १० महिनामा वार्षिक विन्दुगत आधारमा उपभोक्ता मुद्रास्फीति ७.४१ प्रतिशत रहेको छ यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ०.४६ प्रतिशतको विन्दुले घटेको हो । अघिल्लो आर्थिक वर्षको वैशाख मसान्तसम्ममा यस्तो उपभोक्ता मुद्रास्फीति ७.८७ प्रतिशत रहेको थियो ।
यस्तो शोधानान्तर स्थिति अघिल्लो वर्षको सोही अवधिमा २ खर्ब ८८ अर्ब ५० करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा२ अर्ब ४१ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ६३ करोडले बचतमा रहेको बैङ्कले जनाएको छ ।
यस्तै गत आर्थिक वर्षको तुलनामा यस वर्ष मुलुकको चालु खाता घाटामा समेत सुधार आउँदै ५४ अर्ब ६७ करोड रुपैयाँमा झरेको केन्द्रीय बैङ्कले जनाएको छ । आर्थिक वर्ष २०७८/७९ को वैशाख मसान्तसम्म मुलुकको चालु खाता ५ खर्ब ४५ अर्ब ६ करोडले घाटामा रहेको थियो । यस्तो घाटा अघिल्लो वर्ष अमेरिकी डलरमा ४ अर्ब ५५ करोड रहेको थियो ।
चैत मसान्तसम्म मुद्रास्फीति ७.७४ प्रतिशत छ भने सबैभन्दा बढी मुद्रास्फीति खाद्य तथा पेय पदार्थ समूहतर्फ २६.६१ प्रतिशतले बढेको छ । खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.५४ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.८९ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ ।
रेस्टुरेन्ट तथा होटल तर्फको मुद्रास्फीति १४.८७ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १३.६९ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको १०.४१ प्रतिशत र सुर्तीजन्य पदार्थको ८.४९ प्रतिशतले बढेको छ ।
थोक मूल्यका आधारमा २०८० वैशाख महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ३.३१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति १६.०६ प्रतिशत रहेको थियो ।
चालु आर्थिक वर्षको १० महिनासम्म आइपुग्दा मुलुकको शोधनान्तर स्थिति सवाँ २ खर्ब हाराहारी बचतमा पुगेको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार वैशाख मसान्तसम्म मुलुकको ब्यालेन्स अफ पेमेन्ट (बीओपी) २ खर्ब १४ अर्ब ६७ करोडले बचतमा रहेको हो ।
२०८० वैशाख महिनामा अन्तर्राष्ट्रिय मुद्रा कोषबाट एक्स्टेन्डेड क्रेडिट फसिलिटी अन्तर्गत दोस्रो किस्ता बापतको ६ अर्ब ८८ करोड रुपैयाँ (अमेरिकी डलर ५ करोड २७ लाख) प्राप्त भएको राष्ट्र बैङ्कले जनाएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij