२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

कुथेली बुखरी स्मल हाइड्रोको आइपिओ खुल्यो

कुथेली बुखरी स्मल हाइड्रोको आइपिओ खुल्यो

2.1K
Shares

काठमाडौं – कुथेली बुखरी स्मल हाइड्रोपावरले आज (शुक्रबार) देखि आइपिओ निष्कासन गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गरेको हो।

कम्पनीले जारी पुँजी १२ करोड १८ लाख ६७ हजार ५०० रुपैयाँको १० प्रतिशत अर्थात् १ करोड २१ लाख ८६ हजार ८०० रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका १ लाख २१ हजार ८६८ कित्ता आइपिओ आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गरेको हो। उक्त सेयरमा दोलखा जिल्लाको कालिञ्चोक गाउँपालिका वडा नं. ९ (साविकको सुष्पा क्षमावती गाविसका सम्पूर्ण वडाहरू) तथा भिमेश्वर नगरपालिका वडा नं. १ (साविकको सुद्रावती गाविसका सम्पूर्ण वडाहरू) का बासिन्दाहरूले आवेदन दिन सक्नेछन्।

यसका साथै, कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने १२ हजार १८६ कित्ता आइपिओ नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरूका लागि निष्कासन गरेको हो। सो आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।

उक्त सेयरमा असार १ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त समयसम्म सम्पूर्ण कित्ताको लागि आवेदन नपरेमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूले भने असार १७ गतेसम्म आवेदन दिन सक्छन्। कम्पनीलाई इक्रा नेपालले ‘इक्रा एनपी इस्युअर ट्रिपल बी माइनस’ रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ। स्थानीय बासिन्दाले लक्ष्मी बैंक, सिटिजन्स बैंक इन्टरनेसनल, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र सिद्धार्थ बैंकका तोकिएका शाखा कार्यालयका साथै नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा सदस्य प्राप्त गरेका बैंक तथा वित्तीय संस्थाहरूबाट आवेदन दिन सक्नेछन्।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरूका साथै सिडिएस एण्ड क्लियरिङबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सी–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij