२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

विपन्न विद्यार्थीलाई लायन्स क्लबको सहयोग

विपन्न विद्यार्थीलाई लायन्स क्लबको सहयोग

1.4K
Shares

गोरखा – जिल्लाको आरुघाट गाउँपालिका वडा नंं. ३, थुमी स्वारागाउँमा रहेको जलकुमारी माध्यामिक विद्यालयका विद्यार्थीहरुलाई जेठ ७ गते लायन्स क्लब अफ भक्तपुर स्वीट होम डिष्ट्रिक ३२५ एच र लायन्स क्लब अफ काठमाडौं कर्मालय डिष्ट्रिक ३२५ एचले विभिन्न सहयोग गरेको छ ।
लायन्स क्लब अफ भक्तपुर स्वीट होमका प्रेसिडेन्ट कपिल बस्नेत र लायन्स क्लब अफ काठमाडौं कर्मालयका प्रेसिडेन्ट भगवान कार्कीले संयुक्त रुपमा उक्त विद्यालयमा अध्ययनरत २ सय जना विद्यार्थीहरुलाई झोला र १५ जना दृष्टिविहिनसहित अति विपन्न परिवारका २१ जना विद्यार्थीहरुलाई स्टेशनरी सामान तथा विद्यालय पोशाक वितरण गर्नुभएको हो ।यस्तै, क्लबले विद्यालयमा रहेको प्राथमिक उपचार केन्द्रको लागि एउटा बेड सेट समेत उपलब्ध गराएको छ ।


गोरखा जिल्लाको विकट गाउँमा रहेको उक्त विद्यालयमा लायन्स क्लबले विगतदेखि नै विभिन्न सहयोग गर्दै आएको र अहिलेको यस सहयोगले पनि विद्यार्थीहरुलाई राहत मिलेको भन्दै विद्यालयका प्रधानाध्यापक टेक दाहालले मुक्तकण्ठले प्रशंसा गर्नुभएको थियो । यस्तै, उहाँले लायन्स क्लबले विपन्न एवं टाढाको दुरीबाट आउने र दृष्टिविहिन विद्यार्थीहरुलाई आवास, खानासहितको व्यवस्था गरेको, विद्यालयमा साईन्स ल्याब, कम्प्युटर, आधुनिक भवन निर्माण गरी पठनपाठनमा र शिक्षाको गुणस्तर उकास्न गरेको सहयोग स्थानीयका लागि अतुलनिय रहेको बताउनुभयो ।

त्यसैगरि, लायन्स क्लब अफ भक्तपुर स्वीट होमका प्रेसिडेन्ट कपिल बस्नेतले दुर्गम भेगका विद्यार्थी शिक्षाको उज्यालोबाट विमुख हुन नपरोस भन्दै शिक्षाको गुणस्तर उकास्न र बालबालिकाहरुलाई आधुनिक शिक्षा प्रदान गर्न अन्य सहयोगहरु गर्दै जाने बताउनुभएको थियो । यस्तै, लायन्स क्लब अफ काठमाडौं कर्मालयका प्रेसिडेन्ट भगवान कार्कीले सहयोग गर्नुमा नै आफु खुशी हुने भन्दै उक्त विद्यालयमा अध्ययनरत दृष्टिविहिनहरुलाई उच्च शिक्षाको लागि काठमाडौंमा लैजाने योजना रहेको बताउनुभयो । उक्त कार्यक्रममा लायन उर्मिला कार्की, लायन मुकुन्द बस्नेत, लायन प्रद्युम्न कोईराला, लायन काजल कोईराला, लायन अशोक के.सी. विषम के.सी. लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij