२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

९९.८ मेगावाटको तामाकोसी पाँचौंमा जुट्यो लगानी

९९.८ मेगावाटको तामाकोसी पाँचौंमा जुट्यो लगानी

770
Shares

काठमाडौं– दोलखाको बिगु गाउँपालिकामा निर्माण हुने ९९.८ मेगावाटको तामाकोसी पाँचौं जलविद्युत आयोजनाको लगानी जुटेको छ। निर्माण अवधिको ब्याजसहित २१ अर्ब १४ करोड रुपैयाँ अनुमानित लागत रहेको आयोजनामा कर्मचारी सञ्चय कोषले १३ अर्ब ७४ करोड ऋण लगानी गर्ने भएको छ।

आइतबार एक कार्यक्रमबीच प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, कोषका प्रशासक जितेन्द्र धिताल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत विनोद भण्डारीले सम्झौतामा हस्ताक्षर गरेका हुन्। जनताको जलविद्युत कार्यक्रममा समावेश आयोजनाको बाँकी रकम सर्वसाधारणलाई समेत सेयर निश्कासन गरी स्वपुँजी (इक्विटी) बाट जुटाइने छ।आयोजनामा ६५ प्रतिशत ऋण र ३५ प्रतिशत इक्विटीबाट जुटाएर वित्तीय व्यवस्थापन गरिएको हो।

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्ति बहादुर बस्नेतको उपस्थितिमा आइतबार नेपाल विद्युत प्राधिकरण, आयोजनाको प्रवर्द्धक तामाकोसी जलविद्युत कम्पनी र कर्मचारी सञ्चय कोषबीच त्रिपक्षीय ऋण सम्झौतामा हस्ताक्षर भएको हो। तामाकोसी पाँचौं ४५६ मेगावाटको मेगावाटको माथिल्लो तामाकोसीको जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादनपछि निस्किएको पानीलाई उपयोग गरी निर्माण हुन लागेको क्यास्केड आयोजना हो।

त्यसैले यसमा बाँध, बालुवा थिग्रयाउने पोखरी (डिसेन्डर) लगायतका संरचनाहरु बनाउनु नपर्ने भएकोले आयोजनालाई आकर्षक मानिएको छ। माथिल्लो तामाकोसीको विद्युत गृहबाट निस्किएको पानीलाई आयोजनाको सुरुङमा पठाउन आवश्यक पर्ने सिभिल संरचनाको निर्माण भइसकेको छ।

हाइड्रोमेकानिकल काम बाँकी रहेको छ कम्पनीले जानकारी दिएको छ। आयोजनाले ८ किलोमिटर सुरुङ, विद्युतगृह, करिब २ किलोमिटर २२० केभी प्रसारण लाइनलगायतका मुख्य संरचना निर्माण गर्नुपर्न बताइएको छ। आयोजना निर्माणका लागि निर्माण व्यवसायी छनौटका लागि टेण्डर प्रक्रियामा रहेको छ। विस्तृत डिजाइन र वातावरणीय प्रभाव मूल्यांकन ९इआइए० स्वीकृत भइसकेका छन्। आयोजना निर्माणमा आवश्यक पर्ने करिब १३३ रोपनी निजी जग्गा अधिग्रहण गरिसकिएको छ ।

आयोजनाबाट वार्षिक रुपमा ४९ करोड ५१ लाख युनिट विद्युत् उत्पादन हुने छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij