काठमाडौं – ज्योति क्यापिटल लिमिटेडको जेठ ३ गते बुधबार सम्पन्न सञ्चालक समितिको २७ औं बैठकले अध्यक्षमा श्री कपिल ढकाललाई नियुक्त गरेको छ । ज्योति विकास बैंकबाट सञ्चालक मनोनित भई आउनु भएका बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत श्री कपिल ढकाललाई क्यापिटलको अध्यक्षपदमा नियुक्त गरेको छ । बैंकिङ्ग क्षेत्रको उच्च व्यवस्थापन तहमा करिब १५ वर्ष भन्दा बढीको अनुभव बोकेका श्री कपिल ढकाल जेठ ०३ देखि लागु हुनेगरी यस ज्योति क्यापिटलको सञ्चालक समितिको अध्यक्षमा चयन भएका छन् ।
चार्टर्ड एकाउन्टेन्ट् रहेका ढकालसंग डिलोईट इन्डिया, आईसीआईसीआई बैंक इन्डिया, हाम्रो विकास बैंकको प्रमुख कार्यकारी अधिकृत तथा एनआईसी एसिया बैंकको सहायक प्रमुखकार्यकारी अधिकृतको रूपमा कार्य गरेको अनुभव रहेको छ । यसका साथै, उहाँले एनआईसी एसिया क्यापिटल लिमिटेड तथा एनआईसी एसिया लघुवित्त वित्तीय संस्थामा समेत अध्यक्षको रुपमा काम गरि सकेका छन् ।
ज्योति विकास बैंकको सहायक कम्पनीको रुपमा रहेको यस क्यापिटलको चुक्तापुँजी २१ करोड रहेको छ । यस क्यापिटलले चालु आ.व.२०७९÷८० को तेस्रो त्रैमाससम्म रु.१ करोड २४ लाख७१ हजार ३ सय ९ रुपैया मुनाफा गरेको छ । साथै, हरेक ग्राहकहरुको समृद्धिको ज्योति बन्ने अभिलाषा बोकेको यस क्यापिटलले नेपाल धितोपत्र बोर्डमा मर्चेन्ट बैंकरको कार्य गर्न अनुमतिको लागि आवेदन गरी धितोपत्र बोर्डबाट पूर्वाधार तयार गर्ने पत्र (ीइक्ष्) प्राप्त गरी पूर्ण संचालनमा आउने क्रममा रहेको छ ।
नव–नियुक्त सञ्चालक समितिका अध्यक्ष कपिल ढकालको यस क्षेत्रमा रहेको लामो कार्य अनुभव तथा कुशल व्यवस्थापकीय क्षमताले आगामी दिनमा यस क्यापिटलको व्यवसाय विस्तार एवं क्यापिटलबाट प्रदान गरिने सेवालाई सर्वोत्कृष्ट बनाउन उल्लेख्य योगदान गर्नुहुनेछ भन्नेमा यस क्यापिटल विश्वस्त रहेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij