काठमाडौं– नेपाल रिपब्लिक मिडियाले आइपिओ आज (आइतबार) देखि निष्कासन गरेको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गरेको हो। कम्पनीले जारी पुँजी ९६ करोड ७५ लाख रुपैयाँको ४४.९९२२ प्रतिशत अर्थात ४३ करोड ५३ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४३ लाख ५३ हजार कित्ता सेयर निष्कासन लागि छुट्याएको थियो।
सोमध्ये ४ प्रतिशतले हुन आउने १ लाख ७४ हजार १२० कित्ता सेयर कर्मचारीहरूका लागि र ५ प्रतिशतले हुन आउने २ लाख १७ हजार ६५० कित्ता सेयर सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको छ। त्यसैगरी, कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरूका लागि ४ लाख ३५ हजार ३०० कित्ता सेयर निष्कासन गरेको हो।
यस्तै, कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि बाँकी रहेको ३५ लाख २५ हजार ९३० कित्ता सेयर वितरण गर्नेछ। उक्त आइपिओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले जेठ १४ गतेसम्म आवेदन दिन सक्नेछन्।
सर्वसाधारणका लागि भने कम्पनीले जेठ २६ गतेदेखि ३० गतेसम्म आइपिओ खुला गर्न लागेको हो। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्कासन अवधि असार ८ गतेसम्म लम्बिनेछ। उक्त आइपिओमा न्यूनतम १० कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ भने अधिकतममा ५०० कित्ताका लागि आवेदन दिन सक्ने व्यवस्था छ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूका साथै ‘मरो सेयर’ एकाउन्टमार्फत आवेदन दिन सक्नेछन्।
कम्पनीलाई इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले ‘आइआरएन बी प्लस इस्युअर रेटिङ’ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको जनाउँछ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij