२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सामसङ टेलिभिजनको उत्पादन सुरू

सामसङ टेलिभिजनको उत्पादन सुरू

990
Shares

काठमाडौं– नेपालमै सामसङ टेलिभिजनको उत्पादन सुरू भएको छ। घराना व्ययवसायी गोल्छा ग्रुपसँगको सहकार्यमा सामसङ टेलिभिजनको उत्पादन सुरू भएको हो। बुधबार एक कार्यक्रम गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल र सामसङ दक्षिण–पश्चिम एशियाका अध्यक्ष एवम् प्रमुख कार्यकारी अधिकृत जे बि पार्कले संयुक्त रूपमा फ्याक्ट्रीको उद्घाटन गरेका हुन्।
उक्त उद्घाटन समारोहमा नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क चोङ सुक, सामसङ इलेक्ट्रोनिक्सका नेपाल प्रमुख सुङ जुन पार्क लगायत अन्य स्थानीय अधिकारीहरूको उपस्थिति थियो। यो टेलिभिजन कारखानाको शिलान्यास अगष्ट, २०२२ मा गरिएको थियो। यसले देशमा दक्षता र उत्पादकत्व अभिवृद्धि गर्न, अझ धेरै रोजगारहरू सिर्जना गर्न र मजबुत इलेक्ट्रोनिक्स उत्पादन प्रणालीको वातावरण विकास गर्न मद्दत गर्ने कम्पनीले बताएको छ।

गोल्छा ग्रुपका अनुसार अब ३२ देखि ८५ इञ्चसम्मका टेलिभिजन नेपालमै बन्ने छ। अहिले फ्याक्ट्रीमा एक सयभन्दा बढीले रोजगारी पाएका छन्।
त्यस्तै, पूर्ण क्षमतामा टेलिभिजन उत्पादन सुरू हुन थालेपछि एक हजार बढीले रोजगारी पाउने कम्पनीले बताएको छ। नेपालमा २ दशकभन्दा बढी समयदेखि रहिरहेको सामसङले नेपाली जनतासँग एउटा बलियो सम्बन्ध गाँसेको सामसङ दक्षिण–पश्चिम एशियाका अध्यक्ष एवम् प्रमुख कार्यकारी अधिकृत जे बि पार्कले बताए।
‘हाम्रो साझेदार हिम इलेक्ट्रोनिक्ससँगको यो नयाँ टेलिभिजन कारखानाले नेपालसँग हाम्रो सम्बन्धलाई अझ मजबुत बनाउनेछ र स्थानीय उद्योगलाई सशक्त बनाउन हामीले गरिरहेको कार्यको यो एक अर्को उदाहरण हो,’ उनले भने। सामसङले यहाँका जनताहरूलाई रोजगारीका अवसरहरू उपलब्ध गराउने उनको भनाइ छ।
यो कार्यले देशको अर्थतन्त्रमा सकारात्मक सन्देश दिने गोल्छा ग्रुपका प्रबन्ध निर्देशक शेखेर गोल्छाले बताए। सामसङले नेपालको बजारमा आफ्नो साझेदारसँग मिलेर हाल उपभोग्य इलेक्ट्रोनिक्स उत्पादनहरु जस्तैः रेफ्रिजेरेटर, वासिङ मेशिन, माइक्रोवेभ्स, र स्मार्टफोन बिक्री–वितरण गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij