काठमाडौं– आज उपनिर्वाचन भएका क्षेत्रहरु बारा–२, तनहुँ–१ र चितवन–२ मा मतदान भइरहेको छ । निर्वाचन आयोगले मतदानका लागि बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मको समय निर्धारण गरेको छ।
तनहुँ–१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति र बारा–२ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि ती निर्वाचन क्षेत्रका प्रतिनिधि सभा सदस्य रिक्त भएको थियो। नागरिकता प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरिदिएपछि चितवन–२ रिक्त थियो।
बारा–२ मा जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीबाट शिवचन्द्र कुशवाह, एमालेबाट पुरूषोत्तम पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेल लगायतका उम्मेदवार छन्। तनहुँ–१ नेपाली कांग्रेसबाट गोविन्द भट्टराई, नेकपा एमालेबाट सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले उम्मेदवार छन्।
त्यस्तै चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पुनः उम्मेदवार छन्। त्यहाँ नेपाली कांग्रेसले जितनारायण श्रेष्ठ र नेकपा एमालेले रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाएको छ।
तीन निर्वाचन क्षेत्रमा आज हुने उपनिर्वाचनमा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी ६५ उम्मेदवार रहेका छन्।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij