काठमाडौं– खप्तड लघुबित्त वित्तीय संस्था लिमिटेड र धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेका बीच गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी अन्तिम सम्झौता भएको छ।
मर्जर हुने यी दुवै संस्थाहरूमध्य खप्तड लघुवित्तको कार्यक्षेत्र सुदूरपश्चिम प्रदेश हो। धौलागिरी लघुवित्त राष्ट्रियस्तरको कार्यक्षेत्र भएको संस्था हो। दुई संस्थाबीच मर्जर सम्बन्धी समझदारी पत्रमा मंसिर १८ गते हस्ताक्षर भएको थियो। पुस १७ गते नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्राप्त गरेका थिए।
उक्त अन्तिम सम्झौता पत्रमा लागि खप्तड लघुबित्तका तर्फबाट सञ्चालक समितिका अध्यक्ष सुमनप्रसाद श्रेष्ठ र धौलागिरी लघुबित्तका तर्फबाट सञ्चालक समितिका अध्यक्ष इश्वरलाल राजभण्डारीले हस्ताक्षर गरेका हुन्। धौलागिरी लघुवित्तले साउन २४ गते, मंगलबारबाट साउन २९ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा तीन करोड ३१ लाख रुपैयाँ बराबरको तीन लाख ३१ हजार कित्ता सेयर निष्कासन गरेको थियो।
कुल कित्ताको पाँच प्रतिशतले हुन आउने १६ हजार ५५० कित्ता सेयर सामूहिकलगानी कोष र ०।५ प्रतिशतले हुनआउने पाँच हजार १५५ कित्ता कर्मचारीका लागि सुरक्षित गरी बाँकी तीन लाख नौ हजार २९५ कित्ता सर्वसाधारणलाई बिक्री गरिएको थियो।
राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको धौलागिरीले बाग्लुङ नगरपालिका—२, श्रीनगर टोल, बाग्लुङ्गमा रजिष्टर्ड कार्यालयमार्फत् कारोबार संचालन गर्दै आएको छ। सुदूरपश्चिममा कार्यक्षेत्र रहेको खप्तड लघुवित्तको केन्द्रीय कार्यालय कैलालीको गोदावरीमा छ।
खप्तड लघुवित्तले भदौ ८ गतेदेखि भदौ १२ गते, आइतबारसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा एक करोड ३२ लाख रुपैयाँ बराबरको एक लाख ३२ हजार कित्ता सेयर निष्कासन गरेको थियो।
जारी पूँजीको ०.५प्रतिशत अर्थात दुई हजार कर्मचारीहरूका लागि र सर्वसाधारणका लागि छुट्याइएको सेयर मध्ये पाँच प्रतिशत अर्थात् छ हजार ६०० कित्ताकित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको थियो। बाँकी एक लाख २३ हजार ४०० कित्ता सर्वसाधारणलाई छुट्याइएको थियो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij