२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

दोल्ती पावरको आइपिओ बिक्री खुला

दोल्ती पावरको आइपिओ बिक्री खुला

515
Shares

काठमाडौं – दोल्ती पावर कम्पनी लिमिटेडले आज (सोमबार) देखि आइपिओ निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गरेको हो। कम्पनीले जारी पुँजी ५३ करोड ६४ लाख ८६ हजार रुपैयाँको १० प्रतिशत अर्थात् ५ करोड ३६ लाख ४८ हजार ६०० रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका ५ लाख ३६ हजार ४८६ कित्ता आइपिओ आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूमा निष्कासन गरेको हो।

सोमध्ये अति प्रभावित क्षेत्र नौमुले र कालिका गा.वि.स मा स्थायी बसोबास गर्ने स्थानीय बासिन्दाहरूको लागि २ लाख ६८ हजार २४३ कित्ता, आयोजना प्रभावित क्षेत्र दैलेख जिल्लाका स्थानीय बासिन्दाहरूका लागि २ लाख ६८ हजार २४३ कित्ता सेयर निष्कासन गरेको हो। सर्वसाधारणका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने १ करोड ७ लाख २९ हजार ८०० रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित दरका १ लाख ७ हजार २९८ कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरूका लागि निष्कासन गरेको हो।

दुबै समूहका लगानीकर्ताले न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। उक्त आइपिओमा फागुन २५ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त समयसम्म सम्पूर्ण कित्ताको लागि आवेदन नपरेमा आयोजना प्रभावित स्थानीय बासिन्दाहरूले भने चैत ७ गतेसम्म आवेदन दिन सक्नेछन्।

कम्पनीलाई इक्रा नेपालले ‘इक्रा एनपी इस्युर रेटिङ डबल बी’ रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँछ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल रहेको छ। स्थानीय बासिन्दाले आयोजना रहेको कार्यालय, एनआइसी एशिया बैंक, ग्लोबल आइएमई बैंक र प्रभु बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट सी आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। यसका साथै सिडिएस एण्ड क्लियरिङबाट निर्माण गरिएको सफ्टवेयर मेरो सेयर अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीबाट पनि आवेदन दिन सकिनेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij