काठमाडौं– नेपाल टेलिकमले दसैंतिहारको अवसरमा आइतबारदेखि विभिन्न डेटा र भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनस सहितको अफर ल्याएको छ। यो अफर असोज ९ गतेदेखि असोज २३ गतेसम्म उपलब्ध हुने कम्पनीले जनाएको छ।
डेटा प्याक अन्तर्गत २९४ रूपैयाँमा दस दिनभित्र प्रयोग गर्न सकिने २० जिबी डेटा उपलब्ध हुनेछ। त्यस्तै ९८ रूपैयाँमा तीन दिनभित्र प्रयोग गर्न सकिने ६ जिबी डेटा पनि उपलब्ध छ। त्यसैगरी एक दिनका लागि अनलिमिटेड प्रयोग गर्न सकिने १ एमबिपिएस डेटा प्याक र अननेट अनलिमिटेड भ्वाइस प्याक ४९ रूपैयाँमा उपलब्ध हुनेछ।
यी प्याकहरु जुनसुकै समयमा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ। यसैगरी अफर प्राप्त हुने अवधिमा एमपोसमार्फत रिचार्ज गर्दा बोनसका रूपमा डेटा प्याक उपलब्ध गराइने छ।
२०० देखि ४९९ रूपैयाँसम्म रिचार्ज गर्दा दुई दिनभित्र प्रयोग गर्न सकिने ५०० एमबी र ५०० रूपैयाँभन्दा बढीको रिचार्ज गर्दा चार दिनभित्र प्रयोग गर्न सकिने १,०२४ एमबी डाटा प्याक उपलब्ध हुनेछ।
यसैगरी पहिलो पटक भोल्टे सेवा सब्सक्राइब गर्ने सेवाग्राहीका लागि २८ दिनसम्म प्रयोग गर्न सकिने २०० मिनेटको निःशुल्क भोल्टे सेवा पनि उपलब्ध गराइएको कम्पनीले जनाएको छ।
उल्लिखित प्याकेजहरू लिन ग्राहकले *१४१५# डायल गर्नुपर्छ। कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यस सम्बन्धी जानकारी लिन र सेवा खरिद गर्न सकिन्छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij