काठमाडौं -ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडले आइपीओ जारी गर्ने भएको छ । बुधबार एक कार्यक्रमको आयोजना गर्दै प्रभु क्यापिटल लिमिटेड र ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेड बीच फर्मास्यूटिकल्सको कार्यालय बानेश्वरमा सर्वसाधारणमा शेयर निष्काशनका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
गैरआवसीय नेपाली, औषधी व्यवसायमा विज्ञता हासिल भएका व्यक्ति तथा विशेषज्ञ डाक्टरहरु आवद्ध तथा इयु फर्मा टेक्निकल सपोर्ट रही ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडको औषधी उत्पादन गर्ने उद्योग भरतपुर २९, चितवनमा रही कम्पनीले युरोपियन गुड म्यानुफ्याक्चरिङ प्राक्टिस स्टाण्डर्ड अनुसार औषधी उत्पादन गर्ने र नेपाल सरकार औषधी व्यवस्था विभागमा जम्मा ५६ प्रकारका औषधी उत्पादनको लागि प्रकृया शुरु गरेको थियो ।
हाल ३१ प्रकारका विभिन्न औषधीहरु उत्पादन गर्नको लागि अनुमती प्राप्त भईसकेको र बाँकी उत्पादन स्वीकृतिको प्रकृयामा रहेको तथा फर्मास्यूटिकल्स क्षेत्रमा पहिलो भई सर्वसाधारणमा शेयर जारी गर्ने निर्णय कम्पनीले गरेको हो ।
अब अन्य फर्मास्यूटिकल्सलाई समेत बाटो खुलेको कुरा कम्पनीका अध्यक्ष अर्जुन कुमार श्रेष्ठले जानकारी गराए । सम्झौतामा ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडको तर्फबाट कम्पनीका अध्यक्ष अर्जुन कुमार श्रेष्ठ तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij