काठमाडौं– हिमालयन र सिभिल बैंकबीच एक आपसमा मर्जको सम्झौता यहि शुक्रबार हुने भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकसँगको मर्जर प्रक्रिया तोडिएपछि हिमालयन बैंकले सिभिल बैंकसँग मर्जर प्रक्रिया थालेको छ। दुई बैंकबीच आगामी शुक्रबार मर्जरसम्बन्धि सम्झौतामा सहमति हुने भएको छ। नेपाल इन्भेष्टमेन्ट बैंकले भने मेगा बैंकलाई गाभ्ने सहमति गरिसकेको छ। हाललाई हिमालयन बैंकको एक सय कित्ता सेयर बराबर सिभिल बैंकको ८१ कित्ता सेयर हुने गरी स्वाप रेसियो तय भएको छ।
हाल हिमालयन बैंकको चुक्ता पुँजी १२ अर्ब ९६ करोड र सिभिलको नौ अर्ब सात करोड रूपैयाँ छ। सहमति भएको स्वाप रेसियो अनुसार मर्जर भएमा नयाँ बन्ने बैंकको चुक्ता पुँजी २० अर्ब ३० करोड हुनेछ। बैंकमा मर्जरको कारण एक अर्ब ७२ करोड रूपैयाँ सेयर प्रिमियम जम्मा हुनेछ। यस्तो प्रिमियम रकम बोनस सेयर दिन प्रयोग गरिन्छ। मर्जरपछीको चुक्ता पुँजीको आधारमा नै बैंकले ८.४८ प्रतिशत लाभांश दिन सक्ने अवस्था रहन्छ। यो रकम जोडिएपछी भने बैंकको चुक्ता पुँजी कम्तिमा २२ अर्ब तीन करोड रूपैयाँ पुग्नेछ।
बैंकहरूको स्वाप रेसियो भने सम्पत्ति तथा दायित्व मूल्यांकन प्रतिवेदनले निश्चित गर्नेछ। मर्जरपछी बन्ने बैंकको नाम हिमालयन बैंक नै रहनेछ। बैंकको प्रमुख कार्यकारी अधिकृतमा हिमालयन बैंकका आशोक राणाले निरन्तरता दिनेछन्।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij