अहिले स्थानिय तहमा नयाँ नेतृत्व आएको छ । बैशाख ३० गते सम्पन्न निर्वाचनबाट पालिकाहरुमा प्रमुख तथा उपप्रमुख, वडा अध्यक्ष र सदस्यहरुहरुले आफ्नो जिम्मेवारी सम्हालिसके । काठमाडौं जिल्लाको टोखा नगरपालिकाको मेयर पदका प्रत्याशी नेकपा माओवादी केन्द्रका नेता शेखर श्रेष्ठसंग अर्थ नेपाल डट कमले गरेको कुराकानीको सम्पादित अंश
परिणामलाई कसरी हेर्नु भएको छ ?
निर्वाचनमा गएपछि जित हार त भइहाल्छ । जुन परिणाम आयो त्यो स्वभाविक थिएन । त्यसैले हामीले हाम्रो आन्तरिक रुपमा समिक्षा गरिरहेका छौं । तर जनताले दिएको अभिमतलाई सम्मान गर्नै पर्छ ।
अब कसरी अगाडी बढ्नु हुन्छ ?
म हिजो पनि जनताको सेवामा नै थिए । भोली पनि टोखा नगरका जनताको सेवामा नै विताउने छु । पदमा नभए पनि जनताको चासो र सरोकारका विषयमा आफ्नो ठाउँबाट काम गर्ने छु । चुनावको परिणामलाई आत्मसाथ गर्दै भोली नयाँ ढंगबाट जनताको सुखदुखमा रहनेछु । हिजो जनतामा लगेका एजेण्डाहरु कार्यान्वयन गर्नका लागि आफ्नो ठाउँबाट पहल गर्नेछु ।
आफ्नो व्यवसायसगैं समाज सेवामा झन सक्रिय हुनेछु । टोखा नगरको विकास र समृद्धिका लागि आफ्नो तर्फबाट पूर्ण रुपमा लाग्नेछु ।
उम्मेदवार भएर जनताको घरदलौमा जाँदा मतदाताको अपेक्षा के पाउनु भयो ?
टोखा नगरपालिका विविधताले भरिएको नगर भएको कारण ठाउँ अनुसार जनताको आवश्यकता र चाहाना फरक छन् । मैले जनताको भावना, चाहाना, आवश्यकता र समस्यालाई झनै नजिकबाट बुझ्ने अवसर पाए । मुख्यगरी फोहोर, खानेपानी, सडक, पर्यटन,कृषि, बजारीकरण,स्थानिय उद्योगको समस्या समाधानको अपेक्षा राख्नु भयो ।
नगरको नयाँ नेतृत्वलाई के सल्लाह दिनु हुन्छ ?
प्रमुख तथा उपप्रमुख दुवैलाई सफल कार्यकालको शुभकामना । सबै राजनीतिक दलहरुसंग सहकार्य गरेर अघि बढ्नु पर्छ । नगरको समस्यालाई बर्गिकरण गरेर समाधान गर्नुपर्छ । तत्कालिन र दिर्घकालिन छुट्याएर प्राथामिकताको आधारमा हल गर्दै जानु पर्छ । नगरको विकास र समृद्धिको लागि साझा योजना बनाएर अघि बढ्नु पर्छ जस्तो लाग्छ ।
पराजित भएपनि नगरबाट हुने काममा आलोचनात्मक सहयोग हुनेछ । राम्रो कामलाई पूर्ण रुपमा सहयोग र नराम्रो काममा खबरदारी रहनेछ ।
अन्त्यमा ?
मलाई मतदान गर्नु हुने सबै मतदातामा हार्दिक आभार प्रकट गर्न चाहान्छु । पार्टीका सम्पूर्ण साथीहरुलाई विशेष धन्यवाद ।मतदाताहरुको अभिमतको सम्मान गर्दै भोलीका दिनमा नगरको विकास र समृद्धिको लागि काम गर्नेछु ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij