२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

शिवपुरीको समुन्द्रा मावि मतदान केन्द्रमा मतदान अधिकृतको दादागिरी,पत्रकारलाई सूचना संकलन गर्न दिएनन

शिवपुरीको समुन्द्रा मावि मतदान केन्द्रमा मतदान अधिकृतको दादागिरी,पत्रकारलाई सूचना संकलन गर्न दिएनन

3.6K
Shares

शिवपुरी । स्थानीय तह निर्वाचन अन्तर्गत शिवपुरी गाउँपालिकाको वडा नं. ६ समुन्द्रा मावि मतदान केन्द्रमा मतदान अधिकृतहरुले दादागिरी देखाएका छन् ।

तीन वटा बुथ रहेको समुन्द्रा माविमा विशेष गरी क बुथका मतदान अधिकृत भानुभक्त रेग्मीले पत्रकारलाई प्रवेश गर्ने अनुमति नभएको भन्दै दादागिरी देखाएका हुन् । रेग्मीले नुवाकोट जिल्लाका मुख्य निर्वाचन अधिकृत उमेश लुईटेल तथा शिवपुरी गाउँपालिकाका निर्वाचन अधिकृत खरुदेव चुँडालको आग्रह समेत अटेर गरे ।

निर्वाचन आयोगले निकालेको मतदान केन्द्र प्रवेश गर्दा मतदाताले ध्यान दिनुपर्ने कुराहरुलाई ब्याख्या गर्दै उनले सञ्चारकर्मी प्रवेश गर्न नपाउने बताए । जिल्लाका मुख्य निर्वाचन अधिकृत, शिवपुरी गाउँपालिकाका निर्वाचन अधिकृत, नेपाल पत्रकार महासंघ नुवाकोट, पत्रकार महासंघका केन्द्रीय सदस्यको आग्रह समेत अटेर गर्दै उनले दादागिरी प्रस्तुत गरेका हुन् । मोबाइल स्वीच अफ गर्ने, निर्वाचन अधिकृतले सहजताका लागि तयार गरेको ग्रुप म्यासेज नहेर्ने, फोन नउठाउने लगायतका उनको कार्य दिनभर नै जारी रह्यो ।

रेग्मीले शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापा, वडा नं. ६ का सबैभन्दा बढि उमेर भएका व्यक्ति, शारिरीक रुपमा अशक्तले मतदान गरेको फोटो समेत खिच्न दिएनन् । गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष उम्मेदवार, वडाका वडा अध्यक्ष उम्मेदवारको फोटो पनि उनले खिच्न दिएनन् । उनको दादागिरीलाई अन्य बुथका मतदान अधिकृतले पनि साथ दिए । क्यामरा लैजान नपाइने भने पनि पहुँचवालाले भने मतदान गरेको फोटो नै खिच्दा पनि उनी हेरिरहे । दलका प्रतिनिधिहरुले पनि मोबाइल साथमा नै राखेका थिए ।

रेग्मीको दादागिरीले पत्रकार मात्र नभएर मतदान केन्द्रमा खटिएका कर्मचारी पनि आजित थिए । घाइते भएर पनि पैसाको लोभमा मतदान अधिकृतका रुपमा खटिएका रेग्मीले पहिलो दिन र दोस्रो दिन व्यवस्थापनमा चासो नदेखाएको एक कर्मचारीले बताए । स्थानीय बासिन्दा, राजनीतिक दलका प्रतिनिधिको सहयोगमा शान्तिपूर्ण रुपमा मतदान कार्य सम्पन्न भए पनि रेग्मीको कार्यशैली र कमजोर व्यवस्थापनका कारण दिउँसो लाइनमा बसेका मतदाताले दुःख पाएका थिए ।

उनको कमजोर व्यवस्थापन र लापरवाहिकै कारण केहि मतदाताको मत अर्कै व्यक्तिले दिन समेत भ्याए । वास्तविक मतदाताले आफ्नो नाममा कसले भोट हाल्यो भनेर कराउँदा उनलाई सुरक्षाकर्मी लगाएर बाहिर पठाइएको थियो ।

उम्मेदवारहरु भित्र प्रवेश गरी लाइनमा बसेका मतदातासँग मत मागिरहँदा पनि उनी मुकदर्शक बने । तर पत्रकार प्रति लचक भएनन् । राजनीतिक दलका प्रतिनिधिहरु मनलाग्दी प्रवेश गर्न अनुमति दिएका रेग्मीले पत्रकारलाई भने साँझसम्म पनि प्रवेश गर्न दिएनन् । यति मात्र नभई मत खसेको संख्या रिपोर्टिंग गर्न र मतदान सकिएपछि संख्याको विवरण समेत दिएनन् । उल्टै आफू उत्कृष्ट मतदान अधिकृत भएको भन्दै सम्मान गर्न आग्रह गरे ।

रेग्मीले समुन्द्रा मावि मतदान केन्द्रमा दादागिरी देखाए पनि नुवाकोटका अन्य मतदान केन्द्रमा भने पत्रकारलाई प्रवेश दिइएको थियो । उनीहरुले निर्वाध रुपमा फोटो खिचेका थिए । विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा उनीहरुले तस्वीर समेत अपलोड गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij