काठमाडौं – तीन जीवन बीमा कम्पनीहरु मर्जरमा जाने भएका छन् । बिहिबार यूनियन लाइफ ईन्स्योरेन्स कम्पनी लिमिटेड, गुराँस लाइफ ईन्स्योरेन्स कम्पनी लिमिटेड र प्राइम लाइफ ईन्स्योरेन्स कम्पनी लिमिटेडबिच मर्जरमा जान सम्झौता भएको हो ।
प्राइम लाइफ इन्स्यारेन्सका सञ्चालक समितिका एक सदस्यले प्राइम लाइफ इन्स्यारेन्स, युनियन लाइफ इन्स्यारेन्स र गुराँस लाइफ इन्स्यारेन्सबीच मर्जर हुने सहमति भएको बताए । उनले आर्थिक न्युजसंग भने, ‘बुधबार बसेको सञ्चालक समितिको बैठकले प्राइम, युनियन र गुराँस लाइफ इन्स्योरेन्स मर्जरमा जाने निर्णय गरेको छ । यी तीन कम्पनीहरु एक आपसमा गाभिने सहमती भएको छ । सो सम्बन्धमा तीनै कम्पनीका अध्यक्षहरुले सहमती पत्रमा हस्ताक्षर गरेका छन् ।’
बिहीबार तीनवटा जीवन बीमा कम्पनीबीच एक आपसमा गाभ्ने गाभिनेबारे सम्झौता भएको हो । सम्झौतामा मर्जरपछि बन्ने संस्थाको नाम भने नयाँ नै हुने उल्लेख छ । कम्पनीहरुबीचको स्वाप रेसियो पनि टुङ्गिएको छैन । मर्जर समितिले नै सो विषयको टुङ्गो लगाउनेछ । तीन वटै बीमा कम्पनी गाभिएपछि १ः१ अनुपातमा गाभिए भने कुल चुक्तापुँजी ७ अर्ब १ करोड ३८ लाख ६६ हजार रुपैयाँ पुग्नेछ ।
कम्पनीहरुको चालु आर्थिक वर्षको वित्तीय विवरण अनुसार प्राइम लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब ७७ करोड रुपैयाँ, युनियन लाइफको २ अर्ब १५ करोड र गुँरास लाइफको २ अर्ब ८ करोड रुपैयाँ छ । बीमा समितिले बीमा कम्पनीहरुको चुक्तापुँजी वृद्धि योजना ल्याएपछि अहिले बीमा कम्पनीहरू मर्जर तथा प्राप्तिकाे दबाबमा छन् । कम्पनीहरूले अहिले समितिसमक्ष पुँजी वृद्धिकाे योजना पनि पेश गरिसकेका छन्। कम्पनीहरूले पुँजी वृद्दीका लागि हकप्रद र मर्जर तथा प्राप्ति लगायत विकल्पहरू अगाडि सारेका छन्।
बीमा समितिले २०७९ चैत चैत मसान्तभित्रमा निर्जीवन बीमा कम्पनीलाई साढे २ अर्ब र जीवन बीमा कम्पनीलाई ५ अर्ब चुक्ता पुँजी पुर्याउन पत्राचार गरिसकेकाे छ । कम्पनीहरूले एक वर्षभित्र पुँजी पुर्याइसक्नु पर्नेछ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij