२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

रोमानियाको स्मिथ एण्ड स्मिथ र इसेवा मनी ट्रान्सफरबीच रेमिट्यान्स भुक्तानी सम्झौता

रोमानियाको स्मिथ एण्ड स्मिथ र इसेवा मनी ट्रान्सफरबीच रेमिट्यान्स भुक्तानी सम्झौता

1.4K
Shares

काठमाडौं – संसारका दुई सय बढी मुलुकबाट डिजिटल प्रविधिमार्फत सुलभ दरमा नेपालमा रेमिट्यान्स भित्राउँदै आएको ई-सेवा मनी ट्रान्सफर र रोमानियाको पहिलो मनी ट्रान्सफर कम्पनी स्मिथ एण्ड स्मिथबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ।
सम्झौतासँगै, रोमानियामा अध्ययन, काम तथा बसोबास गर्दै आएका नेपालीहरूले नेपालमा आफ्ना आफन्तजन तथा इष्टमित्रलाई, स्मिथ एण्ड स्मिथका रोमानिया भरी रहेका कुनै पनि शाखाबाट सिधैं नेपालमा सम्बन्धित व्यक्तिको बैंक खातामा पैसा पठाउन सक्नेछन्। साथै, देशभरी ५० लाख प्रयोगकर्ताको सञ्जाल रहेको ई-सेवा वालेटमा समेत तुरुन्तै रकम पठाउन सकिन्छ।

यसैगरी रोमानियाको स्मिथ एण्ड स्मिथबाट आएको रेमिट्यान्स नेपालभर रहेका ई-सेवा मनि ट्रान्सफरका १८ हजारभन्दा धेरै एजेण्ट-नेटवर्कको सञ्जालबाट समेत तुरुन्तै प्राप्त गर्न सकिनेछ। ई-सेवा वालेटमा रेमिट्यान्स पठाउँदा अतिरिक्त ७७ रूपैयाँ बोनस रकम समेत प्राप्त गर्न सकिनेछ।
हाल ई-सेवा मनी ट्रान्सफरको ’रेमिटोत्सव’ योजना चलिरहेको हुनाले स्मिथ एण्ड स्मिथबाट ई-सेवा मनी ट्रान्सफर मार्फत नेपाल पैसा पठाउँदा दैनिक पाँच हजार रूपैयाँ तथा बम्परमा ५० हजार रूपैयाँ समेत जित्न सकिनेछ।
रेमिट्यान्स भुक्तानी सम्झौतामा ई-सेवा मनी ट्रान्सफरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजेस कोइराला र स्मिथ एण्ड स्मिथबाट प्रशासक जर्जेटा पोक्नेजले हस्ताक्षर गरेका हुन्।

सम्झौता बारे बोल्दै ई-सेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेस कोइरालाले भने, ‘रोमानियामा पहिल्यैदेखि नेपालीहरू अध्ययन, काम र बसोबास गर्दै आएका छन्। यस सम्झौता मार्फत हामी उहाँहरूलाई डिजिटल माध्यमबाट नेपाल पैसा पठाउन सहज बनाउन चाहान्छौं। साथै, कम सेवा शुल्कमा तुरुन्तै रेमिट्यान्स पठाउन सकिने भएकाले पनि सेवाग्राहीले स्मिथ एण्ड स्मिथ र ई-सेवा मनी ट्रान्सफरमार्फत नेपाल रेमिट्यान्स पठाउने कुरामा हामी विश्वस्त छौ।’

स्मिथ एण्ड स्मिथ, सन् १९९९ मा स्थापना भएको रोमानियाकै पहिलो मनी ट्रान्सफर कम्पनी हो। यसलाई सन् २०११ मा रोमानियाको राष्ट्रिय बैंकले पेमेन्ट इन्स्टिट्युसनको मान्यता प्रदान गरेको हो। कम्पनीले विगत २० वर्षदेखि आफ्ना ग्राहकहरूलाई एक सयभन्दा बढी शाखा मार्फत सस्तो र शुलभ दरमा छिटो र भरपर्दो मनी ट्रान्सफर सेवा प्रदान गर्दैछ। मल्डोभामा समेत आफ्नो सेवा विस्तार गरिसकेको यस कम्पनी सन् २००७ देखि मनिग्राम जस्तो संसारकै अग्रणी मनी ट्रान्सफर सेवा प्रदायकको एजेण्ट समेत रहेको छ

ई-सेवा मनी ट्रान्सफरले परम्परागत शैली तथा डिजिटल माध्यमबाट ई-सेवा वालेट प्रयोगकर्ताहरूको र ६० भन्दा बढी बैक खातामा विप्रेषण रकम भित्राउँदै आएको छ। ई-सेवा मनि ट्रान्सफरले आफ्ना सेवाग्राहीहरूलाई १८ हजारभन्दा बढी एजेण्ट-नेटवर्क मार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ। सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्विकृति प्राप्त ई-सेवा मनी ट्रान्सफर, देशभरका एक करोड दश लाख भन्दा बढी जनसंख्या र एक लाख बढी संस्थाहरूलाई फिनटेकमा आधारित भुक्तानी सेवाहरूको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij