काठमाडौं- सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । लघुवित्तको आईपीओ बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालय नक्साल लक्ष्मणबाबु भवन काठमाडौंमा आज (बैशाख १५ गते, बिहीबार) बाँडफाँट सम्पन्न गरिएको हो ।
लघुवित्तको आईपीओमा अन्तिम दिनसम्म २२ लाख ५ हजार ६३३ जनाले २ करोड ४५ लाख २० हजार १४० कित्ताका लागि आवेदन दिएका थिए । तर विभिन्न कारणले ३ हजार २७२ जनाको ३६ हजार ४९० कित्ता आवेदन रद्द भएको क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार २२ लाख २ हजार ३६१ जना आवेदकको २ करोड ४४ लाख ८३ हजार ६५० कित्ता मात्रै सदर अर्थात् भेरिफाई भएको छ । सोही आधारमा आईपीओ बाँडफाँट गरिएको हो ।
लघुवित्तको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथा विधिबाट १० कित्ताका दरले बाँडफाँट गरिएको छ । १० कित्ताका दरले आईपीओ बाँडफाँट गर्दा ३६ हजार ९४८ जना आवेदकले मात्रै पाएका छन् । १० कित्ताका दरले बाँडफाँट गर्दा ८ कित्ता बाँकी रहन्छन् । बाँकी रहेका ८ कित्ता थप गरेर ८ जना आवेदकलाई ११ कित्ताका दरले दिईएको छ ।
लघुवित्तले बैशाख २ गते शुक्रबारदेखि बैशाख ६ गते मंगलबारसम्म चुक्ता पूँजीको ३ करोड ९५ लाख ३३ हजार ६ सय रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरका ३ लाख ९५ हजार ३३६ कित्ता शेयर निष्काशन तथा बिक्री खुला गरेको थियो । जसमध्ये ०.५ प्रतिशत अर्थात ६ हजार ८२ कित्ता कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात १९ हजार ७६६ कित्ता सामूहिक लगानी कोषहरुका लागि र बाँकी ३ लाख ६९ हजार ४८८ कित्ता शेयर सर्वसाधारणका लागि छुट्याईएको थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij