शिवपुरी – शिवपुरी गाउँपालिका देशकै राजधानीसँग जोडिएको गाउँपालिका हो । अझ नुवाकोटकै उत्कृष्ट पालिका घोषित भएपछि शिवपुरी गाउँपालिकाको चर्चा थप चुलिएको छ ।
जनप्रतिनिधिहरुको अथक प्रयास र मेहनतका कारण नै शिवपुरी गाउँपालिका उत्कृष्ट बन्न सफल भएको हो । यसको मुख्य श्रेय जान्छ गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापालाई । कमाण्ड सम्हाल्ने व्यक्ति सशक्त भयो भने युद्ध जित्न सहज हुन्छ । यस्तै सफल नेतृत्वकर्ता हुन् शिवपुरी गाउँपालिकाका वर्तमान अध्यक्ष रामकृष्ण थापा ।
उनी अहिले सम्वृद्ध शिवपुरी निर्माणका लागि अझ एक कार्यकाल अध्यक्ष बन्ने दौडमा लागेका छन् । शिवपुरी गाउँपालिकाको अध्यक्ष पदका लागि नेपाली कांग्रेसको तर्फबाट थापाले दाबेदारी प्रस्तुत गरेका छन् । उनीसँगै दोडमा छन् गोविन्द थपलिया पनि ।
रामकृष्ण थापाले पाँच वर्षमा शिवपुरी गाउँपालिकामा गरेका मुख्य कामहरु
शिवपुरी गाउँपालिकाको सुविधासम्पन्न प्रशासकीय भवन निर्माण सम्पन्न भई पूर्व राष्ट्रपटि डा. रामवरण यादवबाट समुद्घाटन भएको छ । वडा नं. ४, ६, ७ र ८ को वडा कार्यालय भवन निर्माण सम्पन्न भई सेवा सुरु भइसकेको छ भने वडा नं. २, ३ र ५ को भवन निर्माण कार्य सम्पन्न भएर सेवा सुचारु हुने अवस्थामा छ । वडा नं. १ को कार्यालय भवन निर्माण पनि असार मसान्तसम्म सम्पन्न हुनेछ ।
शिवपुरी स्वास्थ्य ईकाई भवन निर्माण सम्पन्न भई आधुनिक एक्सरे, ल्याबसहितको स्वास्थ्य सेवा सञ्चालनमा छ । कोरोना महामारीका समयमा शिवपुरीमा रहेको आधारभूत अस्पतालको एमबीबीएस डाक्टरसहितको सेवाले चौतर्फी प्रशंसासमेत पाउन सफल भएको थियो ।
१० शैयाको आधारभूत अस्पताल निर्माण कार्य निर्धारित समयमा सम्पन्न हुने गरी काम भइरहेको छ । वडा नं. ५ र ६ मा बर्थिङ सेन्टर स्थापना गरिएको छ । बर्थिङ सेन्टरमा सुत्केरी हुन नसकेका गर्भवतीहरुका लागि निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिएको छ ।
शिवपुरी गाउँपालिकाको महत्वाकांक्षी योजनाको रुपमा रहेको ७२ किलोमिटर लामो कृषि रिङरोडको ९५ प्रतिशत काम सकिएको छ । यो बाटो ८ वटै वडाको मध्ये भागबाट जानेछ । त्यस्तै शिवपुरी शित भण्डार भवन निर्माण सम्पन्न भएको छ भने कृषि उपज संकलन केन्द्र भवन तथा कर्मचारी आवास भवन निर्माण गरिएको छ ।
त्रिवेणीधाम जेष्ठ नागरिक दिवा सेवा केन्द्र भवनको निर्माण असारभित्र सम्पन्न हुनेछ । कोभिड १९ बाट संक्रमित शिवपुरी गाउँपालिका भित्रका स्थायी बासिन्दा एवम् कर्मचारीहरुलाई अघिल्लो आर्थिक वर्षमा ३ हजार र चालू आर्थिक वर्षमा ५ हजार रुपैयाँका दरले पोषण खर्च प्रदान गरिएको छ । कोभिडबाट मृत्यु भएका परिवारलाई किरिया खर्चबापत २० हजार रुपैयाँ प्रदान गरिँदै आएको छ । ५५ वर्ष माथिका एकल पुरुषलाई मासिक १ हजारका दरले सामाजिक सुरक्षा भत्ता उपलब्ध गराईएको छ ।
शिवपुरी गाउँपालिका वडा नं. ४ को स्याउरी भूमे माविमा भेटनरी तर्फको ३ वर्षे प्राविधिक शिक्षालय सञ्चालनमा छ । युवाहरुलाई खेलकुद क्षेत्रमा क्रियाशिल बनाउन शिवपुरी अध्यक्ष गोल्डकप र शिवपुरी वडा कप फुटबल प्रतियोगिता सफलतापूर्वक सञ्चालन भएको छ ।
एक वडा एक उत्पादन नीति अवलम्बन गरिएको छ । वडा नं. ४ मा सिताके च्याउ, वडा नं. ५ मा आलु, वडा नं. ६ मा मौरीपालन, वडा नं. ८ मा तरकारी पकेट क्षेत्रका रुपमा सञ्चालन गरिएको छ । दुध विक्रीमा अनुदान दिइएको छ । कृषिलाई आधुनिकिकरण, व्यवसायिकरण, यान्त्रिकरण र बजारीकरणका लागि गोठ सुधार, खोर सुधार, यन्त्र औजारमा अनुदान प्रदान गरिएको छ ।
कृषकहरुलाई बंगुरको पाठापाठी वितरण, लुगा सिलाउने मेसिन वितरण, सुधारीएको आरन, बाजा लगायतका औजार र उपकरण उपलब्ध गराईएको छ । सबै वडा कार्यालय र स्वास्थ्य चौकीमा इन्टरनेट सुविधा जडान गरिएको छ ।
शिवपुरी गाउँपालिकाले पूर्वाधार निर्माणमा छलाङ नै मारेको छ । सबै भवन निर्माणका लागि जग्गा निःशुल्क प्राप्त भएको छ । रामकृष्ण थापाको कार्यकालमा देखिने गरी मुख्य कामहरु यिनै हुन् । यी बाहेक उनले हरेक शिवपुरीबासीलाई अन्य सहयोग प्रदान गरेका छन् ।
रामकृष्ण थापाको कामको चौतर्फी प्रशंसा हुने गरेको छ । तर उनलाई कार्यकर्ता चिढाएको, आफुखुशी काम गरेको, पार्टीसँग समन्वय नगरेको तथा अफिसियल कामहरुमा लापरवाही गरेको लगायतका आरोप लागेका छन् । यसका बाबजुद पनि उनी सफल अध्यक्ष भने पक्कै हुन् ।
सम्वृद्ध शिवपुरी निर्माणका लागि आफूले चाहेका अन्य विकास निर्माण र जनमुखी कामहरु गर्न बाँकी रहेको रामकृष्ण थापाको भनाई छ । अहिले सुरु भएका कामहरु र नयाँ योजना सफल बनाई शिवपुरीबासीको मनमा सधैं बसिरहनका लागि फेरी अध्यक्ष पदमा उम्मेदवारी दिएर जित्ने लक्ष्यमा आफू रहेको उनको भनाई छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij