२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एफवान सफ्टको सिआइओमा सनत कुमार पौडेल नियुक्त

एफवान सफ्टको सिआइओमा सनत कुमार पौडेल नियुक्त

2.7K
Shares

काठमाडौं– एफवान सफ्ट इन्टरनेशनलको प्रमुख इनोभेसन अधिकारीमा सनत कुमार पौडेल नियुक्त भएका छन्। १६ वर्षभन्दा लामो बैंकिङ क्षेत्रको अनुभव भएका पौडेल एफवान सफ्ट इन्टरनेशनलमा आबद्ध भएका हुन्।

नवनियुक्त सिआइओ सनतले नविल बैंकमा १३ वर्ष डिजिटलाइजेशन हेड, कार्ड एण्ड अल्टरनेट च्यानल हेडका रुपमा काम गरेको अनुभव छ। नविल बैंकमै उनले टेक्नोलोजी एण्ड डिजिटल बिजनेसका रुपमा समेत काम गरे। यसअघि पौडेल नेपाल बैंक लिमिटेडको कोर बैंकिङको टेक्नोलोजी पार्टमा आबद्ध थिए। त्यस्तै, उनले अन्य क्षेत्रमा समेत लामो समय सफ्टवेयर डेभलपमेन्टका रुपमा काम गरेको अनुभव छ।

एफवान सफ्टमा पौडेलको आबद्धतासँगै एफवान सफ्टले विश्वमा विकास भएका नविनतम प्रविधिलाई नेपाली बजार सुहाउँदो बनाउनुका साथै नेपालमा पनि आम मानिसको दैनिक जनजीवन सहज बनाउने खालका सफ्टवेयरको निर्माण, विकास तथा डिजिटल भुक्तानीका क्षेत्रमा अझ नयाँ प्रविधिको विकासमा महत्वपूर्ण योगदान रहने अपेक्षा गरिएको छ।

सफ्टवेयरको क्षेत्रमा ख्याति कमाएको एफवान सफ्ट कम्पनी नेपालका ठुला आइटी कम्पनीमध्ये एक हो। सन् २००४ बाट सञ्चालनमा आएको एफवान सफ्टले वित्तीय क्षेत्रका सफ्टवेयर निर्माण तथा उत्पादन गर्दै नेपाल लगायत विदेशी मुलुकमा बिक्री-वितरण गर्दै आएको छ। एफवान सफ्ट ग्रुप अन्तर्गत हाल १३ वटा कम्पनी सञ्चालनमा छन्। यसअन्तर्गत ई-सेवा, फोन-पे, ई-सेवा मनी ट्रान्सफर, कोजेन्ट हेल्थ, दियालो टेक्नोलोजिज, बस सेवा लगायतका स्थापित कम्पनी रहेका छन्। नेपालका अधिकांस बैंक तथा वित्तीय संस्थामा एफवान सफ्टले विकास गरेका मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, भाइबर बैंकिङ लगायसका सोलुसन प्रयोग हुँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij