काठमाडौं -पशुपति क्षेत्र विकास कोषले होटल आनन्द प्रालीलाई भाडामा दिएको नेपाल-भारत मैत्री पशुपति धर्मशालाको करार सम्झौता रद्द गरेको छ। होटल सञ्चालन गर्न कोष र प्रालीबीच सम्झौता भएको थियो। तर त्यसमा भएका शर्तहरूको पालना नगरेको हुँदा सम्झौता रद्द गरिएको कोषले जनाएको छ।
पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को बैठकले उक्त सम्झौता रद्द गर्ने निर्णय गरेसँगै कोषले सूचना प्रकाशित गरी सम्झौता रद्द भएको जनाएको छ। कोष र प्रालीबीचको सम्झौता रद्द भएको पत्र कोषका पदाधिकारी तथा कर्मचारीले बुझाउन जाँदा प्राली (बतास समूह)ले बुझ्न नमानेको कोषका सदस्य सचिव डा मीलनकुमार थापाले बताए। ‘होटल आनन्द प्रालीले पशुपति क्षेत्र विकास कोषसँग गरेको सम्झौता अनुसार पालना गरेको पाइएन। कोष सञ्चालक परिषद्को बैठकले सम्झौता रद्द गर्ने निर्णय गर्यो, सम्झौता रद्द भएको पत्र बुझाउन जाँदा बतास समूहले बुझ्न मानेन्,’ उनले भने।
बतास समूहले सम्झौता रद्द भएको पत्र बुझ्न नमाने पनि पशुपति क्षेत्र विकास कोषले उक्त समूहको आधिकारिक इमेलमा पत्र पठाइसकेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयले कोषमार्फत होटल आनन्द प्रालिलाई धर्मशाला खाली गर्न बिहीबार पत्राचार गरेको थियो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij