काठमाडौं – नेपाल बैंक र नेपाल सरकार, अर्थ मन्त्रालय, भन्सार विभाग बीच बैंकले काठमाण्डौंको चोभार सुख्खा बन्दरगाहमा बैंकको काउन्टर स्थापना गरी भन्सार विभागको नाममा प्राप्त हुने राजस्व एवम् धरौटीको रकम संकलन गर्ने सम्वन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
भन्सार विभागको तर्फबाट माहानिर्देशक कमल प्रसाद भट्टराई र नेपाल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले मिति २०७८ चैत्र १७ गते भन्सार बिभाग त्रिपुरेश्वर काठमाण्डौमा आयोजित एक समारोहमा उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । सो सम्झौतापत्रमा भन्सार विभागको आवस्यकता अनुरुप बैंकले सरल र सहज तरिकाबाट राजस्व संकलनको कार्य संचालन गर्ने छ ।
सो अवसरमा भन्सार विभागका माहानिर्देशक कमल प्रसाद भट्टराईले नेपालको पहिलो बैंक सँग राजस्व कारोवारको विषयमा विगत लामो समयदेखि सम्वन्ध र सहकार्य रहेको र यस सम्झौताले सहकार्यलाई थप उचाईमा पुर्याएको बिचार राख्दै नेपाल बैंक भरपर्दो आधुनिक प्रविधि मैत्री भएकाले सम्झौता गरिएको र चोभार सुख्खा बन्दरगाहबाट छिटो छरितो रुपमा राजस्व संकलन हुने बिश्वास व्यक्त गरे ।
नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले अत्याधुनिक र नयाँ उर्जावान कर्मचारीहरु बाट संचालन भएको नेपालको पहिलो बैंक नेपाल बैंकलाई नै चोभार भन्सारको राजस्व संकलनको जिम्मेवारी प्रदान गरेकोमा भंसार बिभाग प्रति आभार प्रकटगर्र्र्दैैै आगामी दिनमा अन्य भन्सार कार्यालयहरुमा पनि बैंकिङ् सेवा उपलब्ध गराउने अवसर प्राप्त हुनेनै छ भन्ने बिश्वास व्यक्त गरे ।
उक्त समारोहमा भंसार बिभागका उपमहानिर्देशक लगायतका कर्मचारीहरु र नेपाल बैंकको तर्फबाट अपरेशन विभाग प्रमुख र मार्केटिङ्ग एवं रिसर्च डिभिजन प्रमुख लगायतका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij