२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एमसीसी नेपालको हितमा छ, सबै मिलेर यसलाई संसदबाट पारित गर्नुपर्छ – डा. रामशरण महत

एमसीसी नेपालको हितमा छ, सबै मिलेर यसलाई संसदबाट पारित गर्नुपर्छ – डा. रामशरण महत

3.1K
Shares

काठमाडाैं – नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले एमसीसी नेपालको हितमा रहेको भन्दै सबै मिलेर यसलाई संसद्बाट पारित गर्नुपर्ने बताएका छन् । उनले एमसीसीबारे नेपालमा भएका सबै आलोचनामा कुनै सत्यता नरहेको पनि जिकिर गरे ।
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता महतले फागनु १६ गतेभित्रै एमसीसी पारित गराउनुपर्नेमा जोड दिए । एमसीसी संसद्बाट पारित भए नेपालमा अमेरिकी सेना आउँछ भन्ने कुरा पनि वाहियात र गलत भएको उनको टिप्पणी छ ।

डा. महतले एमसीसी सम्झौता गर्दासम्म सबै दल सहभागी भएको उल्लेख गर्दै अब पारित गर्न पनि सबै दलले भूमिका खेल्नुपर्नेमा जोड दिए । उनले भने,‘एमसीसीमा हस्ताक्षर गर्दा माओवादी केन्द्र पनि सरकारमा थियो नि, पहिला हस्ताक्षर गर्ने माओवादी पनि हो । उहाँहरु पनि संलग्न हुनुहुन्थ्यो । त्यसैले सबै दलको सहमतिमा यो पारित नै होस भन्ने मेरो ईच्छा हो । एमाले पनि एमसीसीको पक्षमा नै छ ।’
उनले कांग्रेसले एमालेसँग गठबन्धन गर्नेबारे कुनै निर्णय नगरेको पनि सुनाए । उनले थपे,‘एमाले एमसीसीको पक्षमा छ। देशको हितको सवालमा एक अर्का देशसँग सम्बन्ध बिगारेर जानुहुँदैन् । एमसीसी निजी स्वार्थको लागि होईन, कांग्रेसले राष्ट्रिय हितको लागि पास गर्नुपर्छ भनेको हो। एमसीसीबारे भएका आलोचना गलत छन् ।’
उनले कम आए भएका मुलुकहरुलाई सहयोग गर्नको लागि अमेरिकाले यो एमसीसी स्थापना गरेको स्पष्ट पारे । उनले भने,‘यो अनुदान चाहिन्छ भनेर नेपालले नै माग गरेको हो । सन् २००४ मा एमसीसी पास भएको हो । विश्वभरिका कम आय भएकाहरुले यसको लागि निवेदन गरे । नेपालले पनि निवेदन गरेको थियो । विगतका सबै सरकारले, कांग्रेस, एमाले, माओवादी केन्द्रले अमेरिकासँग एमसीसी सहयोगको लागि आग्रह गरेको हो । यो त नेपालले छानेको परियोजना हो । पूर्वाधारको कमजोरी पूरा गर्नको लागि आयोजना तयार पारेको हो । सडक स्तरोन्नती र उर्जा विकासको लागि यो सम्झौताबाट प्राप्त हुने रकम खर्च हुन्छ । ३१२ किलोमिटर लामो चार सय केभीको शक्तिशाली ट्रान्समिन लाईन निर्माण गर्ने भनिएको छ, यो सन् २०१७ मा सम्झौता भएको हो । यसले नेपालको आर्थिक विकासको लागि योगदान पुर्याउने छ । पाँच वर्षभित्रै आयोजना सम्पन्न हुनुपर्छ । आयोजना सम्पन्न हुनेबित्तिकै पूर्वाधारको सुधार हुन्छ। लगानीको वृद्धि हुन्छ। आयआयर्जनको अवसर वृद्धि हुन्छ । गरिबी निवारण हुन्छ। यो नेपालको विकासको लागि अन्यत्नै उपयोगी छ । त्यसकारण यसलाई कार्यान्वयन गर्नुपर्छ ।’
एमसीसी दुईदेशबीच भएकोले सम्झौता सोहीअनुसार यो सम्झौता कार्यान्वयन हुने पनि उनले विश्वास दिलाए । उनले भने,‘यो संसद्ले पनि अनुमोदन गर्ने भनिएको छ, सम्झौता हुँदा यो सन् २०१९ भित्रै संसद्ले अनुमोदन गर्छौं भनेर नेपालले भनेको थियो । यो सम्झौता देशको हितको लागि हो । अमेरिकाले जबरजस्ती दिएको होईन, नेपालले मागेको हो ।’

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij