२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

खाजा खान गएका समयमा खाली कुर्सीको फोटो खिचियो – कर्मचारी

खाजा खान गएका समयमा खाली कुर्सीको फोटो खिचियो – कर्मचारी

9.2K
Shares

शिवपुरी – नुवाकोटको शिवपुरी गाउँपालिकामा कर्मचारी नभएको विषयको समाचार गलत भएको त्यहाँका कर्मचारीहरुले बताएका छन् । कार्यालय नै रित्तो बनाएर कर्मचारीहरु विदामा बसेको भन्ने समाचार बाहिर आएपछि उनीहरुले समाचारमा उल्लेख भएजस्तो नभएको बताएका हुन् ।

शुक्रबार दिउँसो कर्मचारीहरु खाजा खान गएको बेलामा शिवपुरी गाउँपालिकाका विभिन्न शाखाको फोटो खिचेर कर्मचारीको मनपरीतन्त्र भन्ने समाचार आएको थियो । “गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत र केहि कर्मचारीहरु विदामा रहेको कुरा सत्य हो । तर फोटोमो देखिएको जस्तो भने होइन”- निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णु न्यौपानेले बताए । “म पनि खाजा खाएर फर्किदाँ मेरो रुममा नै केहि सञ्चारकर्मीहरु साथीलाई भेटेको थिएँ । उहाँहरुले लेखा शाखामा कोहि छैन ? भनेर सोध्नुभयो । मैले उहाँ विदामा बस्नुभएको छ भनें”- न्यौपानेले बताए । एउटा कामका लागि पटकपटक धाउनुपरेको कुरा ती सञ्चारकर्मीहरुले गरेको न्यौपानेको भनाई छ ।
प्रमुख प्रशासकीय अधिकृत ज्ञानेन्द्र प्रसाद भट्ट, लेखा शाखा प्रमुख गंगादेवी श्रेष्ठ र योजना शाखा प्रमुख सुरेश थापा परिक्षा विदामा छन् । प्रमुख प्रशासकीय अधिकृत भट्टले विष्णु न्यौपानेलाई निमित्त प्रशासकीय अधिकृतको जिम्मेवारी सुम्पेका छन् । “मुख्य जिम्मेवारीमा रहेका व्यक्ति अनुपस्थित हुँदा काम केहि प्रभावित भएको छ । त्यो स्वाभाविक हो । तर मनपरीतन्त्र नै भएको चैं होइन । हामीले सकेसम्म कुनै सेवाग्राहीलाई फर्काउन नपरोस् भनेर काम गरिरहेका छौं”- न्यौपानेले बताए ।

दिनभर काममा व्यस्त रहेका स्वास्थ्य शाखाका मुकेश भट्टराई खाजा खान गएका बेलामा फोटो खिचिएको जिकिर गर्छन् । “म दिनभर मेरै कोठामा बसेर काम गरिरहेको छु । खाजा खान गएका बेलामा फोटो खिचेर हाले । यो भ्रम छर्ने काम मात्र हो”- उनले भने । सामाजिक सुरक्षा शाखाका सबिन डंगोलले पनि पत्रकारीताका नाममा कर्मचारीलाई बदनाम गराउने काम भएको बताए । “म सहित अरु ५/६ जना साथीहरु खाजा खाने समयमा क्यान्टिमा गएका थियौं । त्यतिखेर कोहि सेवाग्राही पनि थिएनन् । तर गाउँपालिका नै रित्तो भनेर भ्रमपूर्ण समाचार लेखेछन्”- डंगोलले बताए ।

शिवपुरी गाउँपालिका मात्र होइन, नुवाकोटका अन्य गाउँपालिकाका कर्मचारी पनि विदामा छन् । यसको मुख्य कारण हाल चलिरहेको परिक्षा हो । विभिन्न तह र विषयमा अध्ययन गरिरहेका कर्मचारी परिक्षा दिनका लागि विदामा बसेका छन् । तर समाचारमा उल्लेख भए जस्तै गाउँपालिका नै रित्तो भने पक्कै होइन ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij