२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

निक्षेपमा ब्याजदर वृद्धिको निर्णय स्थगन गर्न महासंघकाे आग्रह

निक्षेपमा ब्याजदर वृद्धिको निर्णय स्थगन गर्न महासंघकाे आग्रह

2.3K
Shares

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघले निक्षेपमा ब्याजदर वृद्धिकाे निर्णय स्थगन गर्न आग्रह गरेकाे छ । कोभिडका कारण साना ठूला सबै प्रकारका उद्योग व्यवसाय कठिन अवस्थाबाट गुज्रिरहेका छन् ।

बैकिङ क्षेत्रबाट उद्योग व्यवसायलाई पूर्णरूपमा सञ्चालन गर्ने कार्यमा सहयोगको अपेक्षा भैरहेको अवस्थामा निक्षेपमा ब्याज वृद्धिको निर्णयबाट उद्योग व्यवसाय क्षेत्र थप सशंकित भएको महासंघले जनाएको छ । बैंकहरूले निक्षेपकाे ब्याजदर वृद्धि गर्ने निर्णय गरेकाे समाचार आएपछि महासंघले यस्ताे आग्रह गरेकाे हाे । एकातिर उद्योग व्यवसाय कोभिड पूर्वको अवस्थामा सञ्चालन हुन सकेका छैनन् भने उत्पादित वस्तुहरूको बिक्री वितरणबाट उठ्नुपर्ने रकमसमेत बजारबाट उठ्न सकिरहेको अवस्था नभएको महासंघले जनाएको छ ।

“बैकिङ क्षेत्रबाट विगतमा भएका सकारात्मक पहलको निजी क्षेत्रले सदैव स्वागत गरेकै हो । अत्यन्त असहज अवस्थाबाट गुज्रिरहेको उद्योग व्यवसाय क्षेत्र र उद्योगी व्यवसायीले लिएको ऋणको ब्याज दर पुन: बढेमा यो क्षेत्र थप धरासायी हुने र सम्पूर्ण उद्योगी व्यवसायी सडकमा आउने परिस्थिति सृजना हुने हो कि भन्नेमा निजी क्षेत्रको चिन्ता छ,” विज्ञप्तिमा भनिएकाे छ,” हरेक त्रैमासमा निक्षेपमा ब्याज दर वृद्धि हुदै जाने प्रथा कायम हुने हो भने मुलुुकभित्र उद्योग व्यवसाय गर्न सम्भव छैन भन्ने हाम्रो ठहर छ । यसरी ब्याज दरमा अस्थिरता कायम रहँदा मुलुकमा व्यवसायिक लागत प्रक्षेपण गर्न सक्ने अवस्थासमेत नहुने हाम्रो बुझाइ छ ।”

“व्यापार घाटाको दायरा निकै बढिरहेको अवस्थामा, पछिल्लोपटक निक्षेपमा ब्याजदर वृद्धिको निर्णयबाट कर्जाको ब्याजदर वृद्धि हुन गई उद्योग व्यवसा य थप सिथिल हुने र त्यसले आन्तरिक उत्पादननै ठप्प हुन जाने अवस्था आउनेतर्फ सरकार र नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण गराउछौँ,” विज्ञप्तिमा भनिएकाे छ, “यसर्थ अनपेक्षित रूपमा गरिएको निक्षेपमा ब्याजदर वृद्धिको निर्णयले आधारदर वृद्धि हुन गई ऋणको ब्याजदरमा समेत वृद्धि हुने आशंका गर्ने ठाउँ पर्याप्त देखिएकाले तत्काल उक्त निर्णय स्थगन गर्न महासंघ राष्ट्र बैंकसमक्ष गम्भीर आग्रह गर्दछ ।” विगतका अनुभवसमेतलाई हेर्ने हो भने पनि ब्याजदर वृद्धिबाट तरलता समस्या समाधान नहुनेमा वलियो विश्वास रहेकाे महासंघले जनाएको छ । ब्याजदर वृद्धि लगायतका कारणबाट उद्योग व्यवसाय क्षेत्र चौतर्फी दबाबमा पर्दा यसको प्रत्यक्ष असर मुलुकको उत्पादन र अर्थतन्त्रमा पर्दछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij