काठमाडौं – एमसीसी पारित नगरे नेपाल नीतिमा पुनर्विचार गर्ने भनी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले नेपालका नेताहरुलाई धम्की दिएकोप्रति राष्ट्रिय जनमोर्चाले आपत्ति जनाएका छन् । शनिबार अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्ति जारी गरी अमेरिकी सहायक विदेशमन्त्री लुले नेपालका नेताहरुलाई टेलिफोन गरेर धम्की दिनु कुटनीतिक मर्यादाविपरीत रहेको बताएका छन् ।
गत बिहीबार अमेरिकी सहायक विदेशमन्त्री लुले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई टेलिफोन गरी एमसीसी पारित गर्न दबाव दिएका थिए । उनले एमसीसी पारित नभए चीनका कारण पारित नभएको ठान्ने पनि बताएका थिए ।
त्यसको विरोधमा केसीले भनेका छन्, ‘अमेरिकाको उक्त धम्कीबाट एमसिसी गलत छ र त्यो नेपालको सार्वभौमसत्ता तथा अखण्डताका विरुद्ध छ भन्ने कुरा थप पुष्टि भएको छ । त्यसका साथै अमेरिकाले नेपालमाथि लाद्न खोजेको एमसिसी परियोजना चीनका विरुद्ध रहेको पनि यो धम्कीबाट झन् प्रष्ट भएको छ ।’ कुनै पनि मुलुकले दिने सहायता, सहयोग वा अनुदान लिन वा नलिन नेपाल स्वतन्त्र रहेको भन्दै केसीले मुलुकको अहित हुने विकास परियोजनालाई अस्वीकार गर्दा कुनै पनि मुलुकले बाध्य पार्न वा धम्क्याउन नमिल्ने बताएका छन् ।
उनले नेपाल अमेरिकाको पक्ष लिएर चीनका विरुद्द वा चीनको पक्ष लिएर अमेरिकाको धुरीमा संलग्न हुने मुलुक नभएको पनि बताएका छन् । एमसीसी सम्झौता पारित गराउन अमेरिकाले दबाव बढाएको भन्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसीले अमेरिकाको धम्कीविरुद्ध देशभक्तहरुले विरोध गर्नुपर्ने बताएका छन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij