काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसदमा पेश गर्नबाट सभामुख अग्निप्रसाद सापकोटाले रोक्न नपाउने बताएका छन् ।
आज एमालेले आयोजना गरेको स्थानीय तह निर्वाचन लक्षित प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले सभामुखले एमसीसी सम्झौता संसदमा पेश गर्न दिन्न भन्नु सभामुखको अधिकार भन्दा बाहिरको कुरा भएको बताएका हुन् ।
ओलीले भने – ‘पेश नगरी रोक्छु भन्ने सभामुखको अधिकार छैन, यो उनको कर्तव्य होइन, उनले अनधिकृत ढंगले काम गर्न पाउँदैनन्’ ।
ओलीले यसअघि कृष्णबहादुर महरा सभामुख हुँदा पनि एमसीसीलाई अनधिकृत रुपमा रोकिएको भन्दै संसदले एमसीसीबारे निर्णय गर्न पाउनुपर्ने बताए । ‘संसदले के गर्छ आफ्नै ठाउँमा छ । तर संसदलाई त्यो अधिकार नदिने कुरा अनधिकृत हो’ उनले भने ।
अध्यक्ष ओलीले एमसीसीका विषयमा मुलुकलाई गम्भिर भूराजनीतिक द्वन्द्वमा फसाइएको बताए । उनले सत्तारुढ गठबन्धनका नेताले फरक फरक धारणा राख्ने, एमसीसी र नेपाली नागरिकसँग फरक फरक कुरा गर्ने गरिएको भन्दै आलोचना समेत गरेका थिए ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij