पोखरा – पोखरा विश्वविद्यालयले दुई महिनाभित्र शिक्षण अस्पताल सञ्चालनगर्ने भएको छ। शुक्रबार पोखरामा विश्वविद्यालयका पदाधिकारी र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडलेलसँगको नीतिगत छलफलपछि विश्वविद्यालयले दुुई महिनाभित्र शिक्षण अस्पताल सञ्चालन गर्ने निर्णय गरेको हो।
विश्वविद्यालयले गण्डकी प्रदेश त्यस आसपासका क्षेत्रका मेडिकल कलेजहरूलाई सम्बन्धन दिने र अन्य विश्वविद्यालयमा पढाइ नभएका विषय समावेश गर्ने छलफल भएको विश्वविद्यालयका रजिष्ट्रार दीपक भण्डारीले जानकारी दिए।
विश्वविद्यालयमा फिजियोथेरापी र अप्टोमेटिप विषयको अध्यापनको तयारी भइरहेको छ। त्यसका लागि हाल भौतिक संरचना निमार्णको काम भइरहेको उल्लेख गरिएको छ। यसअघि बसेको विश्वविद्यालय सभाले नयाँ विषय र मेडिकल कलेजको सम्बधन दिने विषयमासमेत निर्णय गरिसकेको थियो।
छलफलमा मन्त्री पौडेलले मुख्यगरी तीन विषयमा ध्यान दिन आग्रह गरे।
भौतिकपूर्वाधार, नयाँ विषय र अन्य विश्वविद्यालयभन्दा फरक पाठ्यक्रम तयार गर्न उनको सुझाव छ। विश्वविद्यालय सुधारका लागि कुलपति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि आवश्यक छलफल गर्ने मन्त्री पौडेलको भनाइ छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij