काठमाडौं- साताको तेस्रो शेयर बजार घटेर बन्द भएको छ । मंगलबार शेयर कारोबार मापक नेप्से परिसूचकसँगै कारोबार रकम समेत घटेको छ । नेप्से परिसूचक ५ दशमलव ९२ अंकले घटेर २ हजार ८ सय १४ दशमलव ७४ अंकमा झरेको छ । यस अघि सोमबार पनि नेप्से परिसूचक सय अंकले घटेको थियो ।
उता शेयर कारोबार रकम पनि सोमबारको तुलनामा मंगलबार ३ अर्ब भन्दा धेरैले घटेको छ । ९७ लाख ८४ हजार ६ सय ५१ कित्ता शेयर किनबेच हुँदा कारोबार रकम ५ अर्ब ३९ करोड ५६ लाख ७२ हजार ६ सय २७ रुपैयाँमा रोकियो । सोमबार साढे आठ अर्ब माथिको शेयर कारोबार भएको थियो ।
नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीहरुमा वीन नेपाल लघुवित्त वित्तीय संस्था र बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी रहेको छ । आज यी दुबै कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । वीन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य बढेर आज प्रतिकित्ता ११०६ रुपैयाँ पुगेको छ भने बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनीको शेयरमूल्य प्रतिकित्ता ४२१.१० रुपैयाँ पुगेको छ ।
त्यस्तै, कृषि विकास बैकको डिभेञ्चरसंगै गोर्खाज फाइनान्सको पनि शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । आज कृषि विकास बैकको डिभेञ्चर ८ प्रतिशतले घटेको छ भने गोर्खाज फाइनान्सकको शेयरमूल्य ४ प्रतिशतले घटेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी एसियन लाइफ इन्स्योरेन्स कम्पनीको भएको छ । यस कम्पनीको आज २६ करोड ९४ लाख भन्दा बढीको कारोबार भएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij