२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

अदृश्य संवाद

अदृश्य संवाद

1.2K
Shares

 

अचानक उसले प्रश्न गर्यो-
“मृत्यु चाहन्छौ?”
मैले हतारिएर जवाफ दिएँ- “जिजीविषा।”
उसको खित्काले सहर गुन्जियो।
फेरि प्रश्न तेर्स्याएर धाप मार्यो-
“आराम खोज्यौ?”
सायद निरुपाय सम्झियो।
म निर्भय भएर बोलेँ- “सङ्घर्षको एक अध्याय पढ्न बाँकी छ।”
ऊ झस्किएर
चुनौतीको आडमा चक्रव्यूह बुन्न सुरु गर्यो।
ऊ भित्र थियो
तर म बाहिर उभिएको जस्तो देखिन्थेँ।
मेरो देह र आत्मा दुबै दु:खी थिए।
मेरा महत्त्वपूर्ण अङ्गहरूमा
उसको सेनाले अड्डा बनाउँदै थियो।
मैले आफैँसँग सङ्कल्प गरेँ
“जसको शरीर उसैको अधिकार”
मैले हतियार उठाएर भए पनि युद्ध गर्नै पर्छ ।
मेरो आत्मविश्वास नै उसको हार,
मेरो धीरता उसको चुनौती भन्ने
निश्चय गरेपछि
विनाविलम्ब प्रारम्भ गरेको युद्धमा
विजयको विगुल फुक्नलाई
युद्ध समाप्त हुनै पर्थ्यो
किनकि
ऊ हारेर गयो,
मैले जितको उत्सव मनाइरहेँ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij