काठमाडौं – इजरायलमा ‘केयरभिगर’ का लागि ९९ नेपाली आज उडेका छन्। ६३ महिला र ३६ पुरुष गरी ९९ जना नेपाली श्रमिक पहिलो चरणमा इजरायल उडेका हुन्। श्रमिकको बिदाइका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसहित मन्त्रालयका उच्च कर्मचारी तथा नेपालका लागि इजरायली राजदूत हनान गोडेर विमानस्थल पुगेका थिए।
इजरायलले केयरगिभरका लागि लैजाने एकहजारभन्दा बढी श्रमिकहरुको सूची तयार भइसकेको छ। जसमा ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष छन्। यसपछि माघ १५ र १६ गतेका दिन दुई उडान हुनेछ। अर्को महिनाभित्र सबैलाई इजरायल लैजाने नेपालस्थित इजरायली दूतावासले बताएको छ।
उनीहरु नेपाल र इजरायल सरकारबीच भएको सरकार–सरकार (जिटुजी) प्रकृयामार्फत इजरायल जान लागेका हुन्। उनीहरुले सम्झौतामा भएअनुसार नै सेवासुविधा प्राप्त गर्नेछन्।
उम्मेदवार छनोट प्रकृयालाई पारदर्शी बनाइएको बताइएको छ। वैदेशिक रोजगार विभागले गत कात्तिकमा पाँच सय र मङ्सिरमा छ सय ७५ श्रमिकको नामावली रोजगार सम्झौताका लागि इजरायल पठाएको थियो। छनोटमा परेका एक हजार एक सय ७५ मध्ये आठ सय २१ महिला र तीन सय ५४ पुरुषको अन्तिम नामावली प्रकाशित भएको छ। नेपाल सरकार र इजरायल सरकारबीच २०७७ असोज १४ गते श्रम सम्झौता भएको थियो।
इजरायल जाने नेपालीले मासिक करिव २ लाख रुपियाँ पारिश्रमिक पाउनेछन्।सबै नेपाली कामदारहरूलाई इजरायली कामदारहरू सरह काम गर्ने अधिकार हुनेछ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij