काठमाडौं- नेपाली बजारमा हिरोको विद्युतीय स्कुटरको बिक्री तथा वितरण सुरू भएको छ। हिरो विद्युतीय स्कुटरको नेपालकालागि आधिकारिक विक्रेताको रूपमा लक्ष्मी ई मोबिलिटी प्रालि (लक्ष्मी ग्रुपको भगिनी संस्था) ले नेपालमा हिरोको विद्युतीय स्कुटरको बिक्री प्रारम्भ गरेको हो। काठमाडौंको टेकुमा अवस्थित पहिलो हिरो विद्युतीय स्कुटरको सोरुममार्फत यी स्कुटर बिक्री वितरण भइरहेको छ। विद्युतीय मोबिलिटीलाई प्राथमिकता दिने लक्ष्मी ग्रुपको सोच र योजनाअनुरूप हिरो विद्युतीय स्कुटरको बिक्री-वितरण सुरू गरेको कम्पनीले जनाएको छ।
भारतमा उत्पादित हिरोको यी विद्युतीय स्कुटर नेपाली बजारमा एन वाई एक्स, फोटोन र सिंगल ब्याट्री तथा डबल ब्याट्रीसहितको अप्टिमा गरी चार मोडलमा उपलब्ध गराइएको छ। भारतमा यो १२ मोडलमा उपलब्ध छन्। हाल नेपाली बजारमा चारवटा मोडल सार्वजनिक गरेपनि भविष्यमा अन्य मोडल समेत उपलब्ध गराउने कम्पनीको भनाइ छ। त्यस्तै यो विद्युतीय स्कुटरले एक पटकको पूरा चार्जमा ८२ किलोमिटरदेखि १६५ किलोमिटर सम्मको माइलेज दिने बताएको छ। लक्ष्मी ई मोबिलिटी प्रालिले काठमाडौंको टेकुमा आफ्नो सुविधा सम्पन्न सर्भिस सेन्टर स्थापना गरेको छ। कम्पनीले नेपालभरका इच्छुक पक्षबाट डिलरशिपको लागि समेत आवेदन लिदैछ।
हिरो इलेक्ट्रिक भारतको पहिलो र सबैभन्दा ठूलो विद्युतीय दुई पांग्रे स्कुटर निर्माता कम्पनी हो। भारतीय बजारमा जस्तै हिरोको विद्युतीय स्कुटरले नेपाली बजारमा समेत सकारात्मक बजार लिने कम्पनीले अपेक्षा गरेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij