काठमाडौं – राष्ट्रिय सहकारी बैंकले उत्पादन क्षेत्रमा लगानी बढाउँदै गएको छ। सहकारी क्षेत्रसँग जोडिएको राष्ट्रिय सहकारी बैंकले तीन अर्बको सेयर पूँजी बढाएर आठ अर्ब पुर्याएको छ। उत्पादन क्षेत्रमा लगानी बढाउँदै जाने बैंकले जनाएको छ।
बैंकको १८औँ वार्षिक साधारणसभाको सन्दर्भमा पूँजी बढाएर आठ अर्ब पुर्याउने लक्ष्य लिएको छ। अहिले सातै प्रदेशमा इकाइ साधारणसभा गरिरहेको बैंकले पुस ३० गते प्रतिनिधिहरुको साधारणसभा गर्दैछ।
बैंकले सहकारीलाई लगानी गर्दा उत्पादनमूलक क्षेत्रमा लगानी गर्न आग्रह गर्दै आएको र आगामी दिनमा कुन क्षेत्रमा लगानी गर्ने भन्ने तथ्याङ्क सङ्कलन गर्न सुरू गर्ने राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले जानकारी दिए। त्यस्तै, बैंकले विनियम संशोधन गरी तीन अर्ब सेयर पूँजीको सीमालाई बढाएर आठ अर्ब पुर्याउने जनाउँदै तरलता व्यवस्थापनमा लागेको जनाएको छ।
देशभर ३० हजार सहकारी छन्। बैंकले १५ हजारभन्दा बढी सदस्यलाई समेटेको छ। पूँजी बढाएर सबै सहकारीलाई पूर्ण वित्तीय सेवा दिने उद्घोषका साथ बैंकले पूँजी बढाउँदै लगेको छ। बैंकले पहिलोपटक भौतिक रुपमा १८ औँ एकाइ साधारणसभा देशभरका प्रदेशअन्तर्गत पुस १६ गते धनगढीबाट सुरू भएको थियो। बैंकको ४४ शाखा रहेकामा ५४ प्रतिशतले वृद्धि गरी ६८ शाखा बनाएको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईंले बताए। उनले सहकारी र प्रविधिबीच काम गर्न डिजिटल बैंकिङ युनिट बनाउने भन्दै अब वाणिज्य बैंकसँग प्रतिस्पर्धा गर्न सक्ने बैंक बनाउने बताए।
बैंकले सिबिएस स्तरोन्नति, कर्जा व्यवस्थापन सफ्टवेयर कार्यान्वयनमा ल्याउने भएको छ। यस्तै, चेक क्लिरियन्स, तरलता सङ्कट व्यवस्थापन र उत्पादक क्षेत्रमा लगानी बढाउँदै लैजाने गुरागाईंले बताए।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij