विराटनगर – मोरङ व्यापार संघको अध्यक्षमा उद्योगी नवीन रिजाल सर्वसम्मत भएका छन् । सोमबार विराटनगरमा सम्पन्न निर्वाचन प्रक्रिया अन्तर्गत ३३औँ कार्यसमिति सर्वसम्मत चयन गरिएको हो ।
संघको कार्यसमितिमा १६ जना सदस्य सर्वसम्मत भएका छन् । निर्वाचन समितिले संघको कार्यालयमा आयोजित कार्यक्रममा नव निर्वाचित अध्यक्षसहित सदस्यहरूलाई प्रमाण पत्र वितरण गरेको छ । सदस्यमध्येबाट अब पदाधिकारी चयन हुने अध्यक्ष रिजालले बताएका छन् ।
संघको कार्यसमितिमा उद्योग र व्यापारतर्फबाट आठ-आठ जना सदस्य निर्वाचित हुने प्रावधान छ । वरिष्ठ उपाध्यक्ष रिजाल स्वतः संघको अध्यक्षमा निर्वाचित भएका हुन ।
अध्यक्ष तथा सदस्यलाई प्रमाण पत्र वितरण गर्न आयोजित कार्यक्रममा बोल्दै वर्तमान अध्यक्ष प्रकाश मुन्दडाले सर्वसम्मतिको सकारात्मक पहल भएको बताउँदै भने,“आधा शताब्दीभन्दा बढी समयको इतिहास बोकेको संघमा सर्वसम्मत रूपमा पदाधिकारी चयन हुने प्रक्रियाले सहमतिको राम्रो उदाहरण पेश गरेका छौँ ।”
संघका पूर्वअध्यक्ष महेश जाजूले अहिलेसम्म जम्मा तीन पटक सर्वसम्मत रूपमा कार्यसमिति चयन हुन सकेको बताए । “उद्योगी व्यवसायीको हक हित रक्षा गर्न संघले विगतमा खेलेकै भूमिका नयाँ कार्यसमितिले पनि निरन्तरता दिनेमा विश्वास छ,” जाजूले भने, “एउटा इतिहास बोकेको संस्थामा सबैको आपसी सहमतिमा नेतृत्व चयन हुनु उदाहरणीय कार्य हो ।”
नेपाल उद्योग परिसंघ एक नम्बर प्रदेशका अध्यक्ष भीम घिमिरे र संघका पूर्वअध्यक्ष पवन शारडाले नयाँ कार्यसमितिमा युवा उद्योगी व्यवसायीको संख्या अधिक हुनुले नयाँ ढंगले काम गर्न थप सहज हुने बताए ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij