काठमाडौं – सोमवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले दुई ओटा वाणिज्य बैंकसहित ६ ओटा कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले हिमालयन बैंक, सेन्चुरी कमर्सियल बैंक, प्रोग्रेसिभ फाइनान्स, मिथिला लघुवित्त, मिर्मिरे लघुवित्त र कालिका पावर कम्पनीको शेयरमूल्य समायोजन गरेको हो ।
यी ६ ओटै कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनको लागि सोमवार बुकक्लोज गरेसँगै नेप्सेले बुक क्लोजपछिको मूल्य तोकिदिएको हो । नेप्सेले हिमालयन बैंकको २१ दशमलव ३८ प्रतिशत बोनस शेयरको समायोजन पश्चात मूल्य ३९८ दशमलव ७५ रुपैयाँ निर्धारण गरेको छ । कम्पनीको अघिल्लो कारोबार दिन कायम अन्तिम शेयरमूल्य ४८४ रुपैयाँको आधारमा शेयरमूल्य समायोजन भएको हो ।
हिमालयन बैंकले गत वर्षको नाफाबाट २१ दशमलव ३८ प्रतिशत बोनस शेयरसँगै कर समेत ४ दशमलव ६२५ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जर सम्बन्धी सम्झौतामा हस्ताक्षर भएपछि गत वैशाख १ गतेदेखि नै यस बैंकको शेयर कारोबार भने रोक्का रहेको छ । हिमालयन बैंकले लाभांश सहित मर्जर प्रस्ताव पारितका लागि पुस ३० गते २९औं वार्षिक साधारण सभा बोलाएको छ ।
यसैगरी, मिर्मिरे लघुवित्तको २० प्रतिशत बोनस शेयरको समायोजन पश्चात मूल्य १ हजार २९५ दशमलव ८३ रुपैयाँ निर्धारण गरेको छ । कम्पनीको अघिल्लो कारोबार दिन अर्थात् आइतवार कायम अन्तिम शेयरमूल्य १ हजार ५५५ रुपैयाँको आधारमा शेयरमूल्य समायोजन भएको हो । मिर्मिरे लघुवित्तले गत आवको मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।
यो प्रस्ताव पारितका लागि कम्पनीले पुस २९ गते होटल सारथि धुलिखेल, काभ्रेपलाञ्चोकमा बिहान ११ः३० बजे साधारण सभा गर्ने जानकारी दिएको छ । नेप्सेले कालिका पावरको १५ प्रतिशत बोनस शेयरको समायोजनपश्चात मूल्य ४५० दशमलव ४३ रुपैयाँ तोकेको छ ।
त्यस्तै, प्रोग्रेसिभ फाइनान्सको ७ प्रतिशत बोनस शेयरको समायोजनपछिको मूल्य ३३१ दशमलव ६८ रुपैयाँ निर्धारण भएको छ । आइतवार कम्पनीको शेयर प्रतिकित्ता ३५४ दशमलव ९०रुपैयाँमा अन्तिम कारोबार भएको थियो । प्रोग्रेसिभ फाइनान्सले गत आवको मुनाफाबाट शेयरधनीलाई ७ प्रतिशत बोनस शेयर र शून्य दशमलव ३६८४ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो ।
यो प्रस्ताव पारितका लागि कम्पनीले पुस ३० गते ज्यापू प्रज्ञा भवन भोल गणेश ललितपुर, वडा नं ९ ललितपुरमा दिउँसो १ बजे साधारण सभा गर्ने भएको छ । मिथिला लघुवित्तको २५ प्रतिशत बोनस शेयरको समायोजन पश्चात नेप्सेले मूल्य १ हजार ५६७ दशमलव २० रुपैयाँ निर्धारण गरेको छ । कम्पनीको अघिल्लो कारोबार दिन अर्थात् आइतवार कायम अन्तिम शेयरमूल्य १ हजार ९५९रुपैयाँको आधारमा शेयरमूल्य समायोजन भएको हो ।
मिथिला लघुवित्तले गत आवको मुनाफाबाट शेयरधनीलाई २५ प्रतिशत बोनस शेयर र १ दशमलव ३१ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले पुस २९ गते न्यू बौवा होटल एण्ड गेष्ट हाउसको सभा हल मिथिला नगरपालिका १० लालगढ, धुनषामा बिहान ११ बजे साधारण सभा गर्ने भएको छ ।
नेप्सेले सेन्चुरी कमर्सियल बैंकको ५ दशमलव ७५ प्रतिशत बोनस शेयरको समायोजनपश्चात मूल्य २२६ रुपैयाँ तोकेको छ । बैंकको आइतवार कायम अन्तिम शेयरमूल्य २३९ रुपैयाँको आधारमा नेप्सेले मूल्य समायोजन गरेको हो बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई ५ दशमलव ७५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ३० प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले पुस ३० गते आर्मी अफिसर्स क्लब भद्रकाली, काठमाडौंमा साधारण सभा आयोजना गरेको छ ।
नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा समायोजन गरेको हो । आइतवार कम्पनीको शेयर प्रतिकित्ता ५१८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । कालिका पावरले गत आवको मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर र शून्य दशलमव ७८९५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले पुस ३० गते कम्पनीको रजिष्टर्ड कार्यालय, भरतपुर–१० चितवनमा साधारण सभा बोलाएको हो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij