२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

ग्लोबल आइएमई बैंक १६औं वर्षमा प्रवेश

ग्लोबल आइएमई बैंक १६औं वर्षमा प्रवेश

1K
Shares

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेड आइतबारदेखि आफ्नो स्थापनाको १६औं वर्षमा प्रवेश गरेको छ। उक्त अवसरमा बैंकले १५ वर्षदेखि बैंकमा निरन्तर सेवारत ४९ कर्मचारीहरूलाई सम्मान गरेको छ।

आइतबार आयोजित एक विशेष कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीले बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकाललाई १५ वर्षे कोशेढुङ्गा पार गरेकोमा सम्मान गरेका छन्। यसका साथै अध्यक्ष ढकालले बैंकमा १५ वर्षदेखि निरन्तर सेवारत कर्मचारीहरूलाई सम्मान गरेका छन्।

बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकालले ग्लोबल आइएमई बैंकले ‘उत्कृष्ट बैंकिङ सबैका लागि’ भन्ने नाराका साथ आफ्नो स्थापनाको १५ वर्षमा १८ वटा बैंक तथा वित्तीय संस्थाहरू मर्ज तथा एक्विजिशनमार्फत आफूलाई अधिकांश वित्तीय सूचकहरूमा अब्बल बनाउन सफल रहेको बताए।

बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले आफ्नो सेवालाई ग्राहक मैत्री बनाउँदै अहिलेको डिजिटल युगमा समय सापेक्ष सेवा दिनेगरी आफ्नो लक्ष्य निर्धारण गरेर बैंक अगाडि बढेको बताए।

हाल बैंकको ३३.७५ अर्ब रुपैयाँ शेयर धनी कोष, २७४ अर्ब रुपैयाँ निक्षेप संकलन र २६९ अर्ब रुपैयाँ कर्जा लगानी रहेको छ। त्यस्तै बैंकले ७६ जिल्लामा रहेका आफ्ना २८७ शाखा, २६३ शाखा रहित बैंकिङ सेवा, २५२ एटिएम, ४८ एक्स्टेन्सन काउन्टर र तीनवटा वैदेशिक सम्पर्क कार्यालय मार्फत उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्दै आएको छ। बैंकमा ३ हजरा २ सयभन्दा बढी कर्मचारी तथा २७ लाखभन्दा बढी ग्राहकहरू छन्।

बैंकले आफ्नो स्थापनाको १५औं वर्षको अवसरमा मुलुकका सातवटै प्रदेशमा सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रमहरूको आयोजना गरेको छ। यस क्रममा बैंकले निःशुल्क स्वास्थ्य शिविरहरू, रक्तदान कार्यक्रम, छात्रवृत्ति वितरण तथा बैंकको अन्तर विभागीय खेलकुद प्रतियोगिताको आयोजना गरेको थियो।

ग्लोबल बैंक २०६३ साल पुस १८ गते क्षेत्रीयस्तरको वाणिज्य बैंकको रुपमा स्थापना भएको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij