२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

महासंघको सिंगो सञ्जालनै पुनरूत्थानमा परिचालित हुनुपर्ने बेला आएको छ – अध्यक्ष गोल्छा

महासंघको सिंगो सञ्जालनै पुनरूत्थानमा परिचालित हुनुपर्ने बेला आएको छ – अध्यक्ष गोल्छा

845
Shares

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले पुनरूत्थानमा महासंघको सिंगो सञ्जालनै परिचालित हुनुपर्ने बेला आएको बताएका छन् ।
मंगलवार महासंघको सचिवालयमा भएको एक कार्यक्रममा अध्यक्ष गोल्छाले व्यवसायको पुनरुत्थानका लागि समग्र सञ्जाल नै परिचालित हुनुपर्ने बेला आएको बताएका हुन् ।

कार्यक्रममा महासंघका अध्यक्ष गोल्छाले खादा लगाई नवनिर्वाचित पदाधिकारीहरूको स्वागतसहित बधाई दिएका थिए । कार्यक्रमलाई सम्वोधनका क्रममा अध्यक्ष गोल्छाले नेट २०३० ले लिएका लक्ष्यहरू पूरा गर्न महासंघले आफ्ना सदस्यहरूबाट बलियो साथ र सहयोग पाउने विश्वास प्रकट गरे । कार्यक्रममा एयरलाइन्स अपरेटर्स एसोसिएसन अफ नेपाल, नेपाल कोरोगेटेड बक्स उत्पादक संघ, नेपाल कुरियर सेवा संघ, फुटवेयर म्यानुफ्याक्चर्स एसोसिएसन अफ नेपाल, नाडा अटोमोवाइल्स डिलर्स एसोसिएसन अफ नेपाल, नेपाल कृषि मेसिनरी व्यवसायी संघ, नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन, नेपाल जडीबुटी उत्पादक संघ, नेपाल उनी फेल्ट उत्पादक तथा निर्यातक संघका नव निर्वाचित अध्यक्ष एवं पदाधिकारीहरूलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ र उपाध्यक्ष रामचन्द्र संघाईले नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई दिए । सो अवसरमा उनीहरूले वस्तुगत संघहरूका नेतृत्वले राखेका क्षेत्रगत समस्या संवोधनमा महासंघले नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाए ।

समापन मन्तव्यका कार्यक्रममा नव निर्वाचित अध्यक्षहरूले राखेका गुनासा एवं समस्याहरूको बुँदागत रुपमा सम्बोधन गर्दै महासंघको वस्तुगत परिषद्का सभापति एवं उपाध्यक्ष अञ्जन श्रेष्ठले समस्या समाधानमा महासंघले पहल गर्ने विश्वास दिलाए । तपाईहरूका समस्या समाधानमा महासंघले अर्थपूर्ण पहल गर्ने र आवश्यक परेका बेला तपाईहरूलाई समेत साथै लैजाने प्रतिवद्धता जनाए ।

कार्यक्रममा नेपाल कोरोगेटेड बक्स उत्पादक संघका अध्यक्ष सुकृतराज पराजुलीले प्याकिङ बक्समा आत्मनिर्भर भए पनि आयातित बक्सबाट नेपाली उत्पादनलाई समस्या भएको, कोरोगेटेड उद्योगको कच्चा पदार्थ पुराना कागज निर्यात रोक्नुपर्ने, बहुराष्ट्रिय कम्पनी र राष्ट्रिय कम्पनीहरूले दिने तलब ज्याला सामान हुँदा समस्या भएको गुनासो गरे भने नेपाल कुरियर सेवा संघका अध्यक्ष देवेन्द्र खड्काले अन्तर्राष्ट्रिय विमानस्थल र बस पार्कहरूमा छुट्टै कुरियर टर्मिनलको माग गरे । अध्यक्ष खड्काले कुरियर भ्यानलाई ट्राफिकबाट समस्या भएकाले समस्या समाधानमा पहल हुनुपर्ने र कुरियरमा भ्याट हटाउनुपर्ने सुझाव राखे ।

फुटवेयर म्यानुफ्याक्चर्र्स एसोसिएसन अफ नेपालका अध्यक्ष नानीराज घिमिरेले जुत्ता उद्योगहरूका लागि दक्ष जनशक्तिको अभाव भएकाले नियमित रूपमा तालिम दिने केन्द्रहरू सञ्चालनमा ल्याउनुपर्ने सुझाव राखे । भन्सारदर अत्याधिक महँगो भएकाले नेपाली जुत्ताहरू निर्यातमा समस्या परेको गुनासो गरे । सरकारले १५ प्रतिशत महँगो भए पनि स्वदेशी उत्पादनको प्रयोग अनिवार्य गर्ने भने पनि त्यो व्यवहारिक रूपमा कार्यान्वयन नभएको बताए ।

नाडा अटोमोवाइल्स डिलर्स एसोसिएसन अफ नेपालका अध्यक्ष ध्रुवबहादुर थापाले एलसीमा ५० प्रतिशत मार्जिन राख्नुपर्ने नीतिले समस्या ल्याएको, भन्सार सन्दर्भ मूल्य सूची र कालोबजारी ऐनका कारण अटोमोवाइल्स व्यवसायीले दुःख पाइरहेका, एसकेयूसहित भ्याट बुझाउन गाह्रो भएको र यसले मिसम्याचको समेत समस्या ल्याउन सक्ने हुँदा यसलाई हटाउनुपर्ने, भेइकल स्टकमा रहँदा वार्षिक शुल्क/करका सम्बन्धमा अव्यवहारिक नीति हटाउनुपर्ने सुझाव राखे ।

कार्यक्रममा वस्तुुगत परिषदका उपसभापति अरनिको राजभण्डारी, महासंघको कार्यकारिणी समितिका सदस्यहरू,परिषद्का सल्लाहकार, सदस्यहरू, उद्यमी व्यवसायीहरूको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij