२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

रूपाज्योति माविको ४१ औँ वार्षिकोत्सव सम्पन्न

रूपाज्योति माविको ४१ औँ वार्षिकोत्सव सम्पन्न

980
Shares

पोखरा- कास्कीको रूपा गाउँपालिका, वडा नम्बर ६, तालबेंसीमा सञ्चालित रूपाज्योति माध्यमिक विद्यालयको ४१ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देगेन्द्रकुमार गुरुङको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि रूपा गाउँपालिकाका शिक्षा प्रमुख सन्दिप पौडेलले रूपाज्योति रूपाकै एक ज्योति भएको धारणा राखे । ‘पैसा तिर्दैमा पढाइ राम्रो हुने होइन, पैसा नलिइकन पनि गुणस्तरीय शिक्षा दिन सकिन्छ भन्ने उदाहरण रूपाज्योतिले प्रस्तुत गरेको छ’ भन्दै पौडेलले भने, ‘सकारात्मक सोचका साथ काम गर्ने हो भने सामुदायिक विद्यालयलाई राम्रो बनाउन सकिन्छ ।’ आफ्नै ठाउँको विद्यालयलाई राम्रो बनाउने पहल गर्न अभिभावकहरूसँग पौडेलले आग्रह गरे ।

वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयका प्रधानाध्यापक मनिराम कडेलले विद्यालयको सीमित साधन/स्रोतका बाबजुद पनि विद्यार्थीमा अन्तर्निहीत प्रतिभा उजागर हुने ढङ्गबाट कार्यक्रमहरू सञ्चालन गरिएको जानकारी दिए । यसै विज्ञान प्रयोगशाला, शिक्षक तालिमलगायतका कार्यक्रम सम्पन्न गरिएको जानकारी दिँदै कडेलले व्यवस्थित पुस्तकालय निर्माणको योजनामा आफूहरू रहेको जानकारी दिए । उनले विद्यालयका सम्पूर्ण गतिविधिहरू विद्यालयको वेवसाइट www.rupajyoti.edu.np मा हेर्न सकिने पनि जनाए ।

विद्यार्थीहरूले विविध सांस्कृतिक प्रस्तुतिहरू राखेका कार्यक्रममा शिक्षकद्वय महेश गुरुङ र पार्वती बाँस्तोला तथा अभिभावक कृष्णकुमारी दाहाललाई सम्मान गरिएको थियो । सोही अवसरमा शैक्षिक सत्र २०७७ र सहकार्यकलापमा उत्कृष्ट भएका विद्यार्थीहरूलाई पुरस्कृत गरिएको थियो ।

सहायक प्रधानाध्यापक सङ्गीता आचार्यको सञ्चालनमा भएको कार्यक्रममा विद्यार्थी सबिना खातुन, शिक्षक अमृत पौडेल, स्थानीय समाजसेवी जयबहादुर थापा, सामाजिक परीक्षण समितिका सदस्य पुष्पराज सुवेदी, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष खसबहादुर गुरुङ, शिक्षक अभिभावक सङ्घका अध्यक्ष विष्णु गुरुङ, छिमेकी विद्यालय शिवालय माध्यमिक विद्यालयका प्रधानाध्यापक रुपिन्द्र प्रभावीलगायतले शुभकामना दिएका थिए ।

वि. सं. २०३७ मा स्थापित विद्यालयमा हाल बालविकास केन्द्रदेखि कक्षा १० सम्म १३७ जना विद्यार्थी अध्ययनरत छन् । विद्यालयले वार्षिकोत्सकै सन्दर्भमा यसअघि नै गाउँपालिकास्तरीय छात्र तथा शिक्षक भलिबल प्रतियोगिता सम्पन्न गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij