काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारका दोस्रोे दिन आज सोमबार उच्च अंकको गिरावट आएको छ । पछिल्ला ४ कारोबार दिनदेखि उकालो लागेको नेप्से, यस दिन घटेर बन्द भएको हो। पछिल्ला ४ कारोबार दिनमा नेप्से परिसूचक २३२.६२ अंक बढेको थियो। यस दिन नेप्से परिसूचक ६९.७७ अंक घटेर २५२१.६५ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १०.८५ अंक घटेको छ भने फ्लोट इण्डेक्स ४.५३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.४१ अंक घटेको छ।
नेप्से ओरालो लागेपनि यस दिन बजारमा साढे ५ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। यस दिन २३८ कम्पनीको ६७ हजार ७६० पटकको कारोबारमा ५ अर्ब ६० करोड ७४ लाख ३९ हजार रुपैयाँ बराबरको १ करोड २ लाख ९२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन नेप्से ओरालो लागेपनि दुई कम्पनीहरुको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन गोर्खाज फाइनान्स र मध्य भोटेकोशी जलविद्युत कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, यस दिन सामलिङ्ग पावर कम्पनीको शेयरमूल्य ५.९२ प्रतिशत बढेको छ।
यता जोशी हाइड्रोपावरको शेयरमूल्य यस दिन सर्वाधिक ८.५४ प्रतिशत घटेको छ। त्यसैगरी, घलेम्दी हाइड्रोपावरको शेयरमूल्य ८.२१ प्रतिशत घटेको छ। सानिमा जनरल इन्स्योरेन्स र जानकी फाइनान्सको शेयरमूल्य यस दिन ७ प्रतिशतभन्दा बढी घटेको छ।
सोमबार सबै उपसमूहको परिसूचक घटेका छन्। जसमध्ये निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ५.१५ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन अन्य उपसमूहको परिसूचक साढे ४ प्रतिशतभन्दा बढी घटेको छ भने विकास बैंक, जलविद्युत, वित्त र लगानी उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ। यस दिन लघुवित्त र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने बैंकिङ्ग, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।
कारोबार रकमका आधारमा यस दिन नबिल बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ३० करोड ६० लाख रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन शिवम् सिमेन्ट्स, नेपाल लाइफ र हिमालयन डिष्टिलरीको २१ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij