२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

ज्योति विकास बैंक, एनएमबि लघुवित्त र सूर्या लाइफ इन्स्योरेन्सको सेयरमूल्य समायोजन

ज्योति विकास बैंक, एनएमबि लघुवित्त र सूर्या लाइफ इन्स्योरेन्सको सेयरमूल्य समायोजन

1K
Shares

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तीन कम्पनीको शेयरमूल्य समायोजन भएको छ। यस दिन नेप्सेमा ज्योति विकास बैंक, एनएमबि लघुवित्त र सूर्या लाइफ इन्स्योरेन्सको सेयरमूल्य समायोजन भएको हो।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी कम्पनीहरुले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। नेप्सेले यस दिन ज्योति विकास बैंकको ११ प्रतिशत, एनएमबि लघुवित्तको २१.५० प्रतिशत र सूर्या लाइफको १२.७० प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात ज्योति विकास बैंकको शेयरमूल्य ४०३ रुपैयाँ १५ पैसा कायम भएको छ भने एनएमबि लघुवित्तको १ हजार छघ रुपैयाँ ५० पैसा र सूर्या लाइफको ६३८ रुपैयाँ ८६ पैसा कायम भएको छ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात बिहीबार, दोस्रो बजारमा ज्योति विकास बैंकको शेयर प्रतिकित्ता ४४७ रुपैयाँ ५० पैसा, एनएमबि लघुवित्तको १ हजार २८० रुपैयाँ र सूर्या लाइफको ७२० रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

यही समायोजित मूल्यलाई आधार मानेर आइतबार दोस्रो बजारमा यी कम्पनीहरुको शेयर कारोबार खुल्नेछ।

ज्योति विकास बैंक लिमिटेड (JBBL) ले हाल कायम चुक्ता पूँजीको ११ प्रतिशत बोनस शेयर र ४.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न पुस २३ गते, शुक्रबार चौधौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा लिसारा रिसेप्सन, भगवती बहाल, नक्साल, काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ।

यसका साथै सभाले अधिकृत पूँजी ५ अर्बबाट वृद्धि गरी ८ अर्ब पुर्याउने, अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग मर्जर अथवा एक्विजिशनसम्बन्धी सम्पूर्ण कार्य गर्न र बैंकको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

त्यस्तै, एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले हाल कायम चुक्ता पूँजीको २१.५० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ १.१३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो। सोही प्रस्ताव पारित गर्न लघुवित्तले पुस २६ गते, सोमबार नवौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा होटल पोखरा ग्राण्ड, पार्दी पोखरा, कास्कीमा बिहान ११ बजे शुरु हुनेछ।

सभाले अन्य लघुवित्तसँगै मर्ज अथवा एक्विजिशन सम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हाल कायम चुक्ता पूँजीको १२.७० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनको लागि ०.६६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले विद्यमान संस्थापक र सर्वसाधारण शेयर स्वामित्वको ६०ः४० को संरचनालाई परिवर्तन गरी ५१ः४९ प्रतिशत कायम गर्ने, संस्थापक शेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ४ जना र सर्वसाधारण समूहको तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियक्त गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij