२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनमा १५०० प्रतिनिधि सहभागी हुने

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनमा १५०० प्रतिनिधि सहभागी हुने

1.4K
Shares

काठमाडौं– नेकपा (माओवादी केन्द्र)ले पुस ११ देखि १३ गतेसम्म हुने राष्ट्रिय सम्मेलनको तयारी तीव्र पारेको छ । बुधबार पार्टी कार्यालय कोटेश्वरमा पत्रकार सम्मेलनमा बोल्दै माओवादी केन्द्रका प्रवक्ता कृष्ण बहादुर महराले सम्मेलनको तयारी तीव्र पारिएको जानकारी दिए ।
राष्ट्रिय सम्मेलन पुस ११ देखि १३ गतेसम्म प्रज्ञा भवन कमलादीमा हुँदैछ । नेकपा माओवादी केन्द्रले आफ्नो राष्ट्रिय सम्मेलनमा देश तथा विदेशबाट पाहुना नबोलाउने भएको छ ।
बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता कृष्णबहादुर महराले माओवादी केन्द्रको अधिवेशन नभई राष्ट्रिय सम्मेलन भएकाले पाहुना नबोलाइने बताएका हुन् ।

महराले राष्ट्रिय सम्मेलनको प्रचारप्रसार पनि तीव्र पारिएको बताए । भक्तपुर, ललितपुर र काठमाडौमा गेट बनाउने, आकाशे पुलमा ब्यानर राख्ने लगायतका काम सुरु भएको छ । सम्मेलनमा प्रदेश, सल्लाहकार, विभाग, आयोग, जेष्ठ मञ्च, भ्रातृ संगसंगठनलगायतबाट समेत गरी करिब १५०० प्रतिनिधि सहभागी हुनेछन् ।

‘यो महाधिवेशन होइन, त्योभन्दा सानो राष्ट्रिय सम्मेलन हो,’ महराले भने,‘यो सम्मेलनबाट हामी मुख्य दुई काम गर्छौं: क्रान्तिकारी विचार निर्माण र क्रान्तिकारी पार्टी निर्माण।’
क्रान्तिकारी विचार निर्माणअन्तर्गत शान्ति प्रक्रियामा आएपछि पार्टीले लिएका नीतिहरूको विषयमा गम्भीर समीक्षा हुने उनले बताए। त्यस्तै नयाँ क्रान्तिकारी पार्टी निर्माणका लागि के गर्नु पर्छ भन्नेबारे पनि राष्ट्रिय सम्मेलनमा बहस उनले बताए।

‘हामी २०६४ सालमा सबैभन्दा ठूलो पार्टी थियौं। त्यसबीचमा हामीले अरू पार्टीसँग पनि सहकार्य गर्‍यौं। अहिले हामी किन यो अवस्थामा छौं भन्ने गम्भीर समीक्षा हुन्छ,’ महराले भने, ‘अर्को कुरा हामीले क्रान्तिको बाँकी रहेको कार्यभार पनि पूरा गर्नुछ। त्यसका लागि अरू पार्टी जस्ता छन्, हामीले त्यस्तै पार्टी बनाएर हुँदैन। नयाँ पार्टी बनाउन के गर्नुपर्छ भनेर हामी छलफल गर्छौं।’

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij