काठमाडौं– सत्तारुढ दल नेपाली कांग्रेसको जारी वडा अधिवेशनदेखि केन्द्रीय महाधिवेशन प्रतिनिधिसम्म युवाहरुको सहभागीता बढेको छ ।
युवाहरूको प्रतिनिधित्व गर्ने एक पात्र हुन रामेछापकी बिनिता खड्का । अघिल्लो पटक १९ वर्षमा सबैभन्दा कान्छी महाधिवेशन प्रतिनिधिको रूपमा चुनिएकी खड्का दोस्रो पटक नेपाली काँग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधिमा बनिन् ।
त्यति बेला कान्छी महाधिवेशन प्रतिनिधिका रूपमा चुनिएकी आफूलाई केन्द्रीय नेतृत्वमा उभ्याउने योजना थियो । पार्टीको विद्धानमा केन्द्रीय सदस्यका लागि १५ वर्षको क्रियाशील सदस्यता हुनुपर्ने व्यवस्थाले यो सपना पुरा हुन सकेन । तर, यस पटक भने आफूलाई आम प्रतिनिधिको साथ मिल्ने बिनिताको विश्वास छ ।
विद्यालय तह देखिनै नेपाली काँग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघबाट राजनीति थालेकी बिनिता खडका आफूलाई परिवारबाटै राजनीतिमा आउने प्रेरणा मिलेको बताउँछिन् । रामेछापको राजनीतिमा स्थापित परिवार, छोरी राजनीतिमा आओस् र देशका निम्ति खास केही गरोस् भन्ने चाहन्थ्यो । यसका लागि आफ्नै बुबा र माइलो बुबाको साथ र सहयोगले सानै उमेरकी बिनिताका लागि नेपाली काँग्रेसको राजनीतिमा सक्रिय हुने बाटो सजिलो भयो । उनको क्षमता र मेहनतले आज बिनिता खडका केन्द्रीय राजनीतिको हस्तक्षेपकारी भूमिकामा आई पुगेकी छन् ।
लोकतन्त्रको मियो पार्टी काँग्रेसले जनतालाई भरोसा दिलाउनका लागि पनि युवाहरू आफैँ नेतृत्व लिन अघि बढ्नुपर्ने अपरिहार्य देखिएको उनको बुझाई छ ।
राजनीतिमा लागेर यसैबाट अर्थोपार्जन गर्ने गलत परिपाटीले यो क्षेत्रमा विकृति बढेको बिनिताको ठम्याई छ । यसका लागि राजनीतिलाई सामाजिक सेवाका रूपमा स्थापित गर्नुपर्छ भन्ने उनको मान्यता हो।
नेपालको राजनीतिमा लाग्नेहरूले यसलाई सेवाका रूपमा भन्दा पेशाका रूपमा लिने भएकाले विभिन्न आर्थिक अनियमितताका घटनामा संलग्न हुनुपर्ने बाध्यता आउँछ । यसले जनताको विश्वासमा समस्या पैदा हुने गरेको बुझेकी बिनिता आफूलाई राजनीतिसँगै अन्य पेसा व्यवसायमा स्थापित गर्नुपर्ने बुझेर सानै उमेरमा झन्डै दर्जन बढी व्यवसायमा हात हालिसकेकी छन् । इमानदारिता र लगाव हुने हो भने आफूले हात हालेका जुनसुकै क्षेत्रमा सफलता हात पार्न सकिन्छ । यसैलाई आत्मसाथ गदै अघि बढ्दा खडकाको लगानीमा सञ्चालित हरेक व्यवसायले सेवासँगै राम्रो मुनाफा दिन थालिसकेका छन् ।
बिनिता भन्छिन् – हामीकहाँ राजनीतिलाई पेशा ठान्नेहरूका कारण उनीहरूप्रतिको सामाजिक बुझाई र हेराई सकारात्मक छैन। त्यस कारण राजनीतिप्रतिको उदासीनता एवं शिथिलता हटाई नयाँ ऊर्जा, नयाँ जोस र नयाँ जागरका साथ युवापुस्तालाई अघि बढाउनु आजको प्रमुख आवश्यकता रहेको बताउँछिन् । अशल नेतृत्वले मात्र नागरिकका हक, अधिकार स्थापित गर्न सक्ने उनको विश्वास छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij