काठमाडौं – आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६० अङ्कले बढ्दै २५ सय ७१ अङ्क पुगेको छ । यस क्रममा २ अर्ब ६७ करोड ९० लाख रुपैयाँ बराबरको ६१ लाख कित्ता सेयर किनबेच भएको छ । बजार ६० अङ्कले बढ्दा सबै समूहमा सुधार आएको छ । आज निर्जीवन बीमा समूह २४८ र जीवन बीमा समूह सबैभन्दा बढी १८९ अङ्कले बढेको छ ।
यसपछि विकास बैङ्क समूहमा १४१, उत्पादनमूलक समूह १२२, वित्त १२१, जलविद्युत १०८ र होटल एण्ड टुरिजम समूह ९१ अङ्कले बढेको छ । बजार बढेको दिन मैलुङ खोला विद्युत् कम्पनी, आँखु खोला, युनिभर्सल पावर, सीईडीबी हाइड्रोपावरसहित थप ४ वटा कम्पनीको लगानीकर्ताले मनग्य कमाएका छन् । बैंकहरुको ब्याजदरमा राष्ट्र बैंकले गरेको हस्तक्षेपको सकारात्मक प्रभाव शेयर बजारमा परेको छ ।
मंगलबार नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई ब्याजदर बढाउन कडाइ गरेको थियो । उक्त निर्देशनको प्रभावका कारण बुधबार शेयर बजार नेप्सेमा उत्साह देखिएको छ । लगातार घटेको बजारमा बुधबार ६०.५६ अंकले वृद्धि देखिएको हो । बुधबार बजार २५७१.६६ विन्दुमा पुगेर रोकिएको छ । यो वृद्धिदर २.४१ प्रतिशत हो । बुधबार कुल २१७ कम्पनीको कारोबार भयो । ३४ हजार ६४४ वटा कारोबारबाट ६१ लाख १ हजार ४१४ कित्ता शेयर किनबेच भएको छ । बुधबार कारोबार रकम भने मात्र २ अर्ब ६७ करोड ९० लाख २८ हजार १ सय ५५ रुपैयाँमा सिमित भयो ।
बजार निरन्तर ओरालो लाग्ने क्रममा रहेका कारण लगानीकर्ता अहिले पनि पर्ख र हेरकै अवस्थामा रहेको देखिन्छ । बुधबार सबै परिसूचक हरियो रहे । बुधबार वित्त, जलविद्युत, विकास बैंक, अन्य, व्यापारसहितका उपसमूहको लगानीकर्ताले बढी कमाए ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij