काठमाडौं– साताको पहिलो दिन आइतबार र सोमबार उच्च अंकले घटेको शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार पनि घटेको छ । मंगलबार नेप्से परिसूचक ७० दशमलव ०१ अंकले घटेर २ हजार ६ सय १५ दशमलव ४० अंकमा झरेको छ । शेयर बजार सूचक मापक नेप्से पछिल्लो तीन दिनमा मात्रै २०४.३३ अंकले घटेको छ । साताको पहिलो कारोबार दिन आइतबार ६१.२७ अंकले घटेको नेप्से सोमबार ७३.०५ र मंगलबार ७०.०१ अंकले घटेर बन्द भएको हो ।
निरन्तरको गिरावटसँगै मंगलबार नेप्से २६१५.४० अंकमा झरेको छ । ठूला कम्पनीहरुको सूचक माप सेन्सेटिभ ११.४२ अंकले घटेर ४९४.९१ बिन्दुमा ओर्लिएको छ ।
दिनभर २१८ कम्पनीका १ करोड ३० लाख ३४ हजार ८२८ कित्ता शेयर ७५ हजार ३७४ वटा संख्यामा खरीद बिक्री हुँदा कारोबार रकम ५ अर्ब ७४ करोड ५४ लाख ८८ हजार १७९ रुपैयाँ पुगेको छ । कारोबारमा आएका १३ वटै सूचक रातम्य बनेका छन् । फाइनान्स सर्वाधिक ७.३७ प्रतिशतले घट्दा जलविद्युत ४.७४ प्रतिशत र लगानी ३.९३ प्रतिशतले घटेको छ ।
पछिल्लो समय शेयर बजारबाट ठूला लगानीकर्ता बाहिरिएका छन् भने कोभिड संक्रमणको दर घट्दै गएपछि आर्थिक गतिविधि बढ्दा अन्य क्षेत्रबाट शेयर बजारमा आएको पार्किङ मनि पनि बाहिरिएको अवस्था छ । बढ्दो ब्याजदर र नेपाल राष्ट्र बैंकको मार्जिन कर्जामा लागू गरिएको ४.१२ करोडको सीमाले पनि बजारलाई वियरिस प्रवृत्तितिर धकेलेको छ । यसले आम अपेक्षा विपरित लाभांश सिजनमा नै बजार निरन्तर घट्दो क्रममा देखिएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij